काठमाडौँ । व्यापारी दिपककुमार मल्होत्राले बुधवार समातिएको झण्डै एक क्विन्टल तस्करीको सुनबारे आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मल्होत्राले बरामद सुन र ट्याक्सीबारे आफूलाई समेत जोडेर समाचार प्रकाशित भएकोमा ती समाचारहरु भ्रामक असत्य भएको प्रष्टीकरण दिएका हुन् ।
‘समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा मल्होत्राले भनेका छन् ।
उनले आफू र आफ्नो परिवारका सबै सदस्यहरुको व्यवसायिक कारोबारहरु नेपाल कानुन बमोजिम स्थापना भएका निकाय मार्फत हुने गरेको पनि बताएका छन् ।
उनले भने ‘मेरो सुन भएको भए म डाँडा काटिसकेको हुन्थेँ । मेरो व्यापार छुट्टै छ । त्यसबारे मलाई केही थाहा छैन,’ उनले भने, ‘समाचारमा आशंका भन्ने शब्द प्रयोग गरिएको छ । आशंकाको भरमा लेखिएको समाचार गलत छ । सय प्रतिशत, हजार प्रतिशत, लाख प्रतिशत त्यो सुन मेरो होइन । यदि पुष्टि हुन्छ भने म जे पनि सजाय भोग्न तयार छु ।’
FACEBOOK COMMENTS