निःशुल्क फोहर उठाउँदै भानु नगरपालिका
कर्पोरट खबर
8:51 am, शुक्रबार, साउन ५, २०८०
तनहुँ । तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहरमैला निःशुल्करूपमा उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ ।
नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक एक टिपर फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । “हालसम्म नगरवासीको घर–घरबाट निस्कने फोहरमैला उठाउने गरेका छौँ, उठाएको फोहरमैला नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ”, उनले भने ।
विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, पुर्कोट, भन्सार, नारेश्वरटार, बारीफाँट, टुरेपसललगायतका नगरपालिकाका बजार क्षेत्रका रूपमा रहेका स्थानबाट फोहरमैला नगरपालिकाले उठाउने गरेको त्रिपाठीले बताए । “नगरपालिकाभित्रका सहरी क्षेत्रमा फोहरमैलाको दुर्गन्ध फैलन नदिनका लागि निःशुल्क फोहर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ, त्यसपछि अन्य विकल्प सोच्नेछौँ”, नगरप्रमुख त्रिपाठीले भने ।
विशेषगरी दैनिकरूपमा घरबाट निस्केका फोहरमैला सडक, पोललगायतका क्षेत्रमा दुर्गन्ध फैलने गरी स्थानीयवासीले फाल्न थालेपछि यसको व्यवस्थापन गर्नुपर्छ भन्ने हेतुले निःशुल्करूपमा फोहर उठाउने गरिएको उनले बताए । दैनिक फरक–फरक स्थानबाट फोहर उठाउने गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले उठाएको फोहरमैला भानु नगरपालिका–१ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिएको छ । सबै वडाबाट सङ्कलित फोहरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए । नगरपालिकाले सङ्घीयता कार्यान्वयन भएपछि निर्वाचित जनप्रतिनिधिको कार्यकालमा नै उक्त फोहर व्यवस्थापनका लागि खरिद गरिएको हो ।
FACEBOOK COMMENTS