काठमाडौं । विदेशवाट आउने यात्रुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ ।
स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल वुझाइ सजिलै लैजान पाउने छन् ।
विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेशिनमा पुग्नु अगावै स्वयं घोषणाको सुविधा पाउने भएका छन् । त्यसका लागि भन्सार कार्यालयले नियमित कर्मचारी सहित स्वयं घोषणा कक्षको व्यवस्था गरेको छ ।
यसअघि त्यस्तो कक्ष नहुदा यात्रु मापदण्ड भन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्य बराबर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए ।
विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था अनुसार महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । यसैगरी पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन । एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक थप २०० ग्राम सम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था रहेको छ ।
FACEBOOK COMMENTS