काठमाडौँ । नेपालमा पहिलो पटक एसियाली स्तरको शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगिता हुने भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले आयोजना गर्न लागेको ‘५५औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस प्रतियोगिता’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीको विषयमा जानकारी दिएको हो ।
महासंघले पहिलो पटक नेपालमा एशियन च्याम्पियनशिप आयोजना गर्न लागेको हो । हालसम्म प्रतियोगितामा एसियाका २५ राष्ट्रले सहभागिता जनाउने पक्का भइसकेको जानकारी पत्रकारसम्मेलनमा दिइयो । प्रतियोगितामा ४५ वटा विधामा प्रतिस्पर्धा हुने जनाइएको छ ।
प्रतियोगितामा पुरुषतर्फ २८ र महिलातर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा एउटा मिक्स स्पर्धा पनि समावेश गरिएको छ । प्रतियोगिता काठमाडौँको याक एण्ड यति होटलमा सञ्चालन हुने बताइएको छ । यसका अतिरिक्त र्याडिसन पनि प्रतियोगिताको आधिकारिक होटल रहने बताइएको छ ।
सात दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन भदौ १५ गते सहभागी सबै राष्ट्रका खेलाडीको रजिष्ट्रेशन गरिने छ । दोस्रो दिन भदौ १६ गते टिम ब्यवस्थापहरुको बैठक, निर्णायकहरुको बैठक, डोपिङ सेमिनार र एशियाली कंग्रेसको आयोजना हुनेछ ।
यसैगरी तेस्रो दिन भदौ १७ गते खेलाडीको तौल र उचाइ मापन तथा उमेर समूहको परीक्षण गरिने आयोजकले जनाएको छ । सोही दिन एशियाली वार्षिक कंग्रेसको बैठक र निवार्चनसमेत हुने जानकारी पत्रकारसम्मेलनमा दिइयो ।
यसैगरी चौथो दिन भदौ १८ गते प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । सोही दिन १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ भने ती विधाको नतिजा पनि आउने छ । त्यो दिन १४ जना नेपाली खेलाडीले आठवटा समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी प्रतियोगिताको पाँचौं दिन भदौ १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुनेछ । सोही दिन ती स्पर्धाको नतिजा पनि आउने छ । उक्त दिन २४ जना नेपाली खेलाडीले विभिन्न १७ वटा समूहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको छैटौं दिन भदौ २० गते विभिन्न नौवटा विधामा प्रतिस्पर्धा हुनेछ । ती स्पर्धाको नतिजा पनि सोही दिन आउने छ । उक्त दिन पाँचजना नेपाली खेलाडीले चारवटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । सोही दिन शारीरिक सुगठन खेलको १० वटा समूहका समूहगत विजेताबीच प्रतिस्पर्धा गराई मिष्टर एशिया—२०२३ को घोषणा गरिने छ । प्रतिस्पर्धामा धेरै अंक ल्याउने तीन राष्ट्रलाई पहिलो, दोस्रो र तेस्रो घोषण गरिने छ । प्रतियोगिताको समापन पनि सोही दिन हुनेछ । प्रतियोगिताको अन्तिम दिन भदौ २१ गते विदेशी खेलाडीहरुको बिदाइ गरिने छ ।
FACEBOOK COMMENTS