काठमाडौं, माघ १०- सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गोकुल बाँस्कोटाले नेपाली कर्मचारी उपलब्ध हुन नसक्ने अवस्थामा २६ जनासम्म विदेशी कामदार नियुक्त गर्न नेपाल रेल्वे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिनुभयो।
यस्तै मन्त्रिपरिषद्को बैठकले काम गर्न नसकेपछि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपियाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ। जर्मनीमा रहेको नेपालको पुरानो राजदूतावास बिक्री गर्ने निर्णय पनि गरेको छ।
राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी मापदण्ड, २०७६ स्वीकृत गरिएको छ। मालवस्तुको वर्गीकरण तथा उत्पत्ति विषयको पूर्वादेश जारी गर्नेसम्बन्धी विषयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने पनि बैठकले निर्णय गरेको छ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि सम्पूर्ण आर्थिक, प्रशासनिक अधिकारसमेत प्रयोग गर्ने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेललाई कार्यकारी निर्देशक समेतको काम तोकिएको छ।आजको नेपाल समाचारपत्रमा समाचार छ ।
FACEBOOK COMMENTS