काठमाडौं । आज मंगलबार सेयर बजार परिसूचक नेप्से १७ दशमलव ५६ अंकले घटेर १ हजार ९ सय ५८ दशमलव ७२ अंकमा झरेको छ । अघिल्लो दिन ५ अंकले बढेकोमा दोस्रो दिन पुनः सेयर बजार ओरालो लागेको हो ।
आज सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ६६ अंकले घटेर ३७४ दशमलव ३९ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन कारोबार रकम समेत घटेर १ अर्ब १९ करोड ९१ हजार झरेको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक १ दशमलव ३८ अंकले घटेको छ भने फाइनान्स समूहको उपसूचक १ दशमलव २७ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १।२३ प्रतिशतले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १ दशमलव २२ प्रतिशतले घटेको छ ।
अन्य समूहको उपसूचक भने १ प्रतिशत कमले घटेका छन् । आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७ दशमलव ९१ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ दशमलव ५४ प्रतिशतले घट्न पुगेको छ ।
FACEBOOK COMMENTS