काठमाडौं, माघ २० – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानल सञ्चालनमा ल्याउने बताएका छन् । नेपाल टेलिभिजनको ३५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
उनले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी छ महिनाभित्र ‘एनटिभी वल्र्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन समेत दिए । उनले सोका लागि सरकारले बजेट र आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए। नेपाल टेलिभिजनका हाल पाँच च्यानल प्रसारण भइरहेका छन् ।
मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समिति ९रासस०, गोरखापत्र संस्थान र रेडियो नेपाल सरकारी सञ्चारमाध्यम नभई जनता र राज्यको माध्यम तथा सम्पत्ति भएको उल्लेख गर्दै मुलुकको आधिकारिक सूचना र भिडियोलाई विदेशीले हेर्नुपर्दा नेपाल टेलिभिजनबाट हेर्नुपर्ने गरी उक्त नयाँ च्यानलबाट हेर्ने गरी सङ्कल्प लिनु अत्यावश्यक भएको बताए ।
साथै मन्त्री बाँस्कोटाले नयाँ उत्साह र उमङ्गका साथ आफ्ना प्रभाव र पहुँच विस्तार गर्दै यही माघ १७ गते इटहरी च्यानलको शुभारम्भ भएकामा नेपाल टेलिभिजनलाई बधाई दिए।
कार्यक्रममा संस्थामा २० र ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घसेवा पदक र सेवानिवृत्त कर्मचारीलाई सम्मान तथा विभिन्न विधामा उत्कृष्ट पत्रकार तथा कर्मचारीलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट सार्वजनिक महत्वका सूचनादाता, विज्ञापनदाता, व्यापारिक कारोवारकर्ता र वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयीलाई पनि पुरस्कार प्रदान गरियो ।
सो अवसरमा टेलिभिजनको स्मारिका लोकार्पण गरिएको थियो । संस्थालाई प्रविधि रुपान्तरणमा अगुवाइ गर्ने इञ्जिनीयरिङ शाखा प्रमुख चिन्तामणि बराललाई पनि सम्मान गरियो । यसैगरी यस वर्षको उत्कृष्ट कर्मचारीका रुपमा समाचार निर्देशक राजु सिलवाललाई रु ५५ हजार राशिसहित पुरस्कृत गरियो ।
FACEBOOK COMMENTS