काठमाडौं । नेपाल अपाङ्ग संघका अध्यक्ष साङ्देन लामा र स्टोरकिपर दानबहादुर थिङलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूसँगको मिलेमतोमा संघमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अध्यक्ष लामामाथि गैरकानुनी रुपमा अध्यक्ष बनेको र अध्यक्ष बनेपछि विभिन्न व्यक्तिहरूलाई प्रयोग गरेर भ्रष्टाचार गरेको आरोप छ भने स्टोरकिपर दानबहादुर थिङ कर्मचारी गायत्री दाहाललाई कुटपीट गरेको आरोपमा प्रकाउ परेका हुन् । खासगरी उनले संघ परिसरभित्र सञ्चालनमा रहेको क्यान्टिनमा चरम आर्थिक घोटाला गरेको संघका निवर्तमान कानुनी सल्लाहकार विदुर कुमार थापाले जानकारी दिए ।
‘अपाङ्ग संघको क्यान्टिन अर्थात् मेसमा आर्थिक अनिमियता धेरै भएपछि हामीले विरोध गर्दा कुनै सुनुवाइ भएन । त्यसपछि २०८० साल असोजको ६ गते तालाबन्दी समेत गरेका थियौँ । उक्त ताला फोडेपछि हामीले विरोधमा उत्रिन बाध्य भएका हौँ,’ पूर्वसल्लाहकार थापाले कर्पोरेट खबरसँग भने ।
थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई ४० लाखमा खरिद गरेको आरोप पनि सांङ्गेन लामालाई लगाएका छन् । ‘राजु भण्डारी, स्वीकृति भण्डारी र मञ्जु भण्डारी बौद्धिक अपाङ्गता भएको व्यक्तिको परिवारबाट ४० लाख रुपैयाँ अक्षय कोषमा राख्न दिएका थियौँ । साथै स्वीकृति भण्डारीलाई राख्न १५ लाख रुपैयाँ सांङ्गेन लामाले लिएको थियो । तर, ५५ लाख रुपैयाँ अक्षय कोषमा हुने पर्नेमा अहिले ५ रुपैयाँ पनि छैन,’ उनले भने ।
उनले अध्यक्ष सांङ्गेन लामाको सदस्यतासमेत नरहेको बताएका छन् । लामाले अञ्जन लामिछानेको २४० नम्बरको सदस्यता आफ्नो नाममा गरी अध्यक्ष भएको थापाको आरोप छ । उनीहरुले सदस्यता नभएको सांङ्गेन लामालाई अब पदबाट बर्खास्त गर्नुपर्ने र अब निर्वाचनबाट पदपूर्ति गरिनुपर्ने माग अघि सारेका छन् ।
FACEBOOK COMMENTS