काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको एनआईसी एशिया ग्रोथ फण्ड २ मा आवेदन दिने समय थप गरिएको छ ।
क्यापिटलले मंसिर ४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको थियो । उक्त फण्डमा अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिने छ ।
कुल बिक्री गर्न लागेको इकाईको १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्ने छ । उक्त फण्ड अवधि ७ वर्षको हुनेछ ।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । इकाई बिक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँड गर्न सकिने व्यवस्था छ ।
सो अवधिसम्म न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्था समेत रहेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।
FACEBOOK COMMENTS