काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाएपश्चात सरकारले बिगो लाइभ र स्न्यापच्याटजस्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
बीबीसी नेपाली सेवाका अनुसार टिकटकजस्तै प्रयोगकर्ताहरु लाइभ बस्न मिल्ने थप सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका अनुसार बिगो लाइप, स्न्यापच्याट, लाइकी र टिन्डरजस्ता अन्य एपमाथि पनि सरकारले निगरानी बढाएको हो ।
रायमाझीले बीबीसी नेपाली सेवासँग भनेका छन्, ‘म तीनलाई सोसल होइन, एन्टी सोसल मिडिया भन्छु । तिनीहरुले नकारात्मक सामग्री प्रवाह गर्ने र बेथिति फैलाउनेबाहेक केही गरेका छैनन् ।’
हाल सरकारले यस्ता एपहरुको प्राविधिक पक्ष र समाजमा यिनीहरुका कारण परेका सकारात्मक तथा नकारात्मक असर र प्रभावहरुको बारेमा अध्ययन गरिरहेको उनले बताएका छन् । उनका अनुसार सरकारले बिगो लाइभ, लाइकी, टिन्डर, स्न्यापच्याट, टेलिग्रामलगायतका एपमाथि निगरानी बढाएको हो ।
गत २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारिरहेको भन्दै टिकटकमाथि तत्काल रोक लगाउने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णय विरुद्ध दायर १४ ओटा रिटमाथिको सुनुवाइ विचाराधीन अवस्थामा रहेको छ । बिगो लाइभ र लाइकी सिङ्गापुर स्थित बिगो टेक्नोलोजिजका एपहरू हुन्, जसलाई चिनियाँ कम्पनीहरूले नै सञ्चालन गर्दै आएका छन् ।
टेलिग्राम भने रुसी मेसेजिङ एप हो । यसैगरी डेटिङ एप टिन्डर र मेसेजिङ एप स्न्यापच्याट भने अमेरिकी कम्पनीका उत्पादन हुन् ।
प्रधानमन्त्री कार्यालयको प्रारम्भिक अध्ययनबाट यस्ता अधिकांश एपहरू यौन सम्बन्धी भिडिओ अपलोड गर्न र आदानप्रदान गर्नका लागि प्रयोग हुने गरेको र धेरै नेपाली नागरिकमाथि नकारात्मक असर पारिरहेको पाइएको उल्लेख छ ।
सबै पक्षको अध्ययन गरी टोलीले प्रतिवेदन बुझाउने र सोही आधारमा प्रतिबन्ध लगाउने गरी सिफारिस गरिने बताइएको छ । यसका साथै पब्जी र फ्रि फायरलाई समेत सरकारले निगरानीमा राखेको छ ।
FACEBOOK COMMENTS