पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हिजो बिहीबारदेखि पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ सुरू भएको छ ।
पोखरामा उद्यमशीलता विकासको मुख्य उद्देश्य राखेर सुरू गरिएको ‘समृद्धि स्टिल्स ३२औँ राष्ट्रिय औद्योगिक व्यापार मेला, २०८०’ हिजो पोखराको नयाँबजारस्थित प्रदर्शनी हलमा उद्घाटन गरिएको छ ।
उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउँदै स्थानीय उत्पादनहरूको प्रवद्र्धन, व्यवसाय विस्तारको सम्भावना तथा नयाँ अवसरको खोजी गर्नका लागि पोखरा उद्योग वाणिज्य संघले मेला आयोजना गरेको संघका अध्यक्ष पवन कुमार प्रजापतिले जानकारी दिए । मेला विशुद्ध रूपमा उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउनु, नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी पस्किनु र उद्यमशीलता विकासमा समर्पित भएको उनको भनाइ छ ।
पोखरा उद्योग वाणिज्य संघले २०४२ सालमा देशमै पहिलोपटक राष्ट्रिय औद्योगिक व्यापार मेलाको थालनी गरेको उनले बताए । उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउँदै स्थानीय उत्पादनहरुको प्रवद्र्धन, व्यवसाय विस्तारको सम्भावना र नयाँ–नयाँ अवसरको खोजी गर्ने काम सहज नभए पनि संघले आफ्नो पहल निरन्तर जारी राखेको उनको भनाइ छ ।
मंसिर २१ देखि पुस १ गतेसम्म आयोजना हुने मेला पृथक उद्देश्यमा समर्पित भएको पनि उनले बताए । ‘हामीमाथि पनि प्रश्नहरू छन् तर म यहाँहरुलाई के स्पष्ट पार्न चाहन्छु भने पोखरा उद्योग वाणिज्य संघ नाफामुखी संस्था होइन र हुनेछैन,’ उनले भने । ३२औं संस्करणको मेला पनि नाफामुखी नभएर पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्देश्यमा केन्द्रित रहेको उनको भनाइ छ ।
मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शन, प्रवद्र्धनका लागि विशेष स्टलको व्यवस्था गरिएको बताउँदै उनले महिला उद्यमशीलता विकासकै लािग मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै स्वरोजार हुन चाहने महिलाहरुका लागि आवश्यक पर्ने मेसिनरी सामानहरुको प्रदर्शनीको पनि व्यवस्था जानकारी दिए । ती सामानहरु खरिदमा लागत साझेदारी तथा बजारीकरणमा सघाउने व्यवस्था मिलाइएको पनि उनले बताए ।
संघका महासचिव बलराम आचार्यले ‘लगानीको सम्वद्र्धन: उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नारासहित आयोजना भइरहेको मेलाले गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजी तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने लक्ष्य लिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डले मेलालाई प्रवद्र्धन गरेका छन् । पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजनमा मेला आयोजना भएको हो ।
मेलाको उद्घाटन हिजो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका हुन् । त्यसअघि गैह्रापाटनबाट मेलास्थल नयाँबजारसम्म प्रभातफेरि निकालिएको थियो । प्रभातफेरी पोखरा र आसपासका क्षेत्रबाट आमा समूह, महिला समूह, व्यवसायीहरुको समूह तथा भजन समूहहरूको सहभागिता थियो ।
मेलामा यसपटक गत वर्षको तुलनामा आकर्षक स्टल र स्टेज निर्माण गरिएको छ । पुस १ गतेसम्म चल्ने मेलामा कुल २५० स्टल रहेको आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले जानकारी दिएका छन् । जसमा डोमतर्फ ५४, अटोका ५० र अन्य विभिन्न खालका १४६ स्टल रहेका छन् ।
मेलामा महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न मेलास्थलमै हस्तकलासम्बन्धी तालिमको व्यवस्था मिलाइएको छ । मेलाबाट अनुमानित आम्दानी ९० लाखबाट खर्च कटराइ १० लाख बचत हुने अनुमान आयोजकको छ । बचत रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने उनले बताए ।
मेला प्रवेशको लागि सर्वसाधारणको लागि १०० रुपैयाँ र विद्यार्थीको हकमा ६० रुपैयाँ टिकट कायम गरिएको छ भने ज्येष्ठ नागरिक तथा अपाङ्ता भएकाहरुको सम्मानका निम्ति नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
मेला सम्पन्न गर्न पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति उमेश धमलाको संयोजकत्वमा २०१ सदस्यीय मूल आयोजक र संघ अध्यक्ष प्रजापतिको अध्यक्षतामा कार्यसम्पादन समिति गठन गरेको छ ।
सरकारको प्रभावकारी पहलबिना अर्थतन्त्र सुध्रिदैन, योजना ल्याउन ढिला भइसक्यो (भिडिओ अन्तर्वार्ता)
FACEBOOK COMMENTS