काठमाडौं । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन् ।
सोमबार बिहान वितरण शुभारम्भ गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले जानकारी दिए ।
भोलिदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ भने एक दुई दिनभित्र काठमाडौंको सम्पूर्ण ठाउँमा पानी वितरण हुने छ ।
मेलम्ची खोलाबाट गत बुधवारदेखि पानी पठाउन थालिएकोमा सुन्दरीजलको पानी भण्डारण तथा प्रशोधन केन्द्रमा शनिवार साढे ८ करोड हाराहारी पानी आएको थियो । आइतबारदेखि सुरुङ पूर्ण रूपमा भरिएर १७ करोड लिटर पानी आइरहेको छ ।
मेलम्ची खानेपानी काठमाडौँमा वितरण गर्न थालिएको ३ वर्ष भएको छ । बाढी पहिरोका कारण मेलम्ची पानी पठाउने स्थल हेलम्बु गाउँपालिकाको अम्बाथानमा पटक पटक निर्माणको काम गर्दा अर्बौँ रुपैयाँ खर्च भएको छ । २०७८ साल असार १ गते आएको बाढी पहिरोपछि काठमाडौँमा मेलम्चीको पानी नियमित रूपमा आउन सकिरहेको छैन । अघिल्लो वर्ष वैशाख र जेठ महिनामा पानी काठमाडौँ आएसँगै बर्सातमा रोकिएको थियो । बाढी पहिरोले आयोजना स्थलमा यो वर्ष पनि क्षति पुगेका कारण बन्द भएको ७ महिनापछि बल्ल काडमाडौंमा पानी आइपुगेको हो ।
FACEBOOK COMMENTS