काठमाडौँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानसेनापति रुक्माङ्गद कटवाललाई पदबाट हटाउने तयारी गरिरहेका बेला नेपाली सेनाले प्रधानमन्त्री निवास बालुवाटारलाई बाहिरबाट घेरेको खुलासा भएको छ ।
कटवाललाई बालुवाटार बोलाएर बर्खास्त गर्ने तयारी भइरहँदा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सेनाको विशेष टोली भर्याङ र पर्खाल भत्काउने उपकरणसहित परिचालित भएको तत्कालीन राष्ट्रपति डा. रामवरण यादवका स्वकीय सचिव ललित बस्नेतले खुलाएका हुन् ।
पत्रकार सुधीर शर्मासँगको कुराकानीमा बस्नेतले २०६६ वैशाख २० गतेको घटनाक्रमबारे यस्तो खुलासा गरेका हुन् । उनका अनुसार कटवाललाई बालुवाटार बोलाइएपछि उनलाई नियन्त्रणमा लिने वा थुन्ने प्रयास हुन सक्ने आशंकाले सेनाले प्रधानमन्त्री निवासलाई घेरेको थियो ।
सरकार र प्रधानसेनापतिबीच चुलिएको विवाद
तत्कालीन सरकार र प्रधानसेनापति कटवालबीच केही समयदेखि विवाद चुलिँदै गएको थियो । माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने विषय, सेनाको नयाँ भर्ना रोक्न सरकारले दिएको निर्देशन र केही सैनिक अधिकारीको पदावधि थप गर्ने विषयमा सरकार र सेना नेतृत्वबीच मतभेद थियो ।

सरकारले नागरिक सरकारको निर्देशन पालना नगरेको आरोप लगाउँदै कटवाललाई हटाउने तयारी गरेको थियो । यही पृष्ठभूमिमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सिन्धुली पुगेर कटवाललाई हटाउने उद्घोष गरेका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले कटवाललाई बालुवाटार बोलाएका थिए ।

कटवाललाई बालुवाटार बोलाइएको जानकारी पाएपछि उनलाई माओवादी निकट युवा संगठन वाईसीएलमार्फत नियन्त्रणमा लिने वा थुन्ने प्रयास हुन सक्ने आशंका राष्ट्रपति कार्यालयमा बढेको बस्नेतले बताएका छन् । यही विषयलाई लिएर उनले तत्कालीन बलाधिकृत छत्रमानसिंह गुरुङसँग फोनमा कुरा गर्दै प्रधानसेनापतिको सुरक्षामा ध्यान दिन आग्रह गरेका थिए ।

त्यस क्रममा गुरुङले बस्नेतलाई फोनमा भैरवनाथ गण तयारी अवस्थामा रहेको जानकारी गराएका थिए । सेनापतिको सुरक्षाको लागि नेपाली सेनाको भैरवनाथ गणको विशेष टोली बालुवाटार परिसर वरिपरि परिचालित भएको गुरुङले जानकारी दिएका हुन ।

बालुवाटारभित्र कटवाललाई नियन्त्रणमा लिने वा दबाब दिने अवस्था आएमा उनले सैनिकलाई संकेत गर्न सक्ने र त्यसपछि आवश्यक प्रतिकार गर्न सक्ने गरी सेनाले तयारी गरेको थियो । यो विषय कटवालले आफ््नो पुस्तकमा पनि लेखेका छन् ।
सम्भावित परिस्थितिमा पर्खाल नाघेर भित्र प्रवेश गर्न भर्याङदेखि पर्खाल भत्काउन प्रयोग हुने उपकरणसमेत तयारी अवस्थामा राखिएको थियो । प्रधानसेनापति कटवाललाई सुरक्षित रूपमा बाहिर निकाल्न वा आवश्यक हस्तक्षेप गर्न सक्ने गरी यस्तो तयारी गरिएको बस्नेतको भनाइ छ । त्यस दिन सशस्त्र प्रहरी बलका तत्कालीन प्रमुख सनत बस्नेतको नेतृत्वमा रहेको सशस्त्र प्रहरीबाट पनि प्रधानमन्त्री प्रचण्डले सुरक्षा सहयोग लिएको ललित बस्नेतको दाबी छ ।
एउटै दिन बालुवाटार बोलाइए कटवाल र खड्का
२०६६ वैशाख २० गते तत्कालीन रथी कुलबहादुर खड्कालाई पहिले बालुवाटार बोलाइएको थियो । त्यसपछि प्रधानसेनापति कटवाललाई पनि प्रधानमन्त्री निवासमा बोलाइयो । प्रचण्डले दुवैलाई एउटै स्थानमा बोलाए पनि छुट्टाछुट्टै कोठामा राखेर छलफल गरेका थिए ।
कटवाललाई एउटा कोठामा कफी खुवाएर राखिएको थियो भने प्रधानमन्त्रीले अर्को कोठामा खड्कासँग छलफल गरेका थिए । त्यसक्रममा प्रचण्डले खड्कालाई नयाँ प्रधानसेनापतिका रूपमा नियुक्त गरेको पत्र दिएका थिए भने कटवाललाई बर्खास्त गरिएको पत्र दिएका थिए ।
बर्खास्तीको पत्र पाएपछि कटवालले राष्ट्रपति कार्यालयमा सम्पर्क गरी उक्त पत्र बुझ्ने वा नबुझ्ने भन्ने विषयमा जानकारी मागेका थिए । त्यसपछि राष्ट्रपति कार्यालयबाट उनलाई सिधै सैनिक मुख्यालय गएर कमान्ड सम्हाल्न निर्देशन दिइएको थियो ।
प्रचण्डले राष्ट्रपतिलाई सोधेका थिए : कटवाललाई हटाए के गर्नुहुन्छ ?
कटवाललाई पदबाट हटाउने विषयमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति डा. रामवरण यादवसँग पनि बारम्बार छलफल गरेका थिए । बस्नेतका अनुसार राष्ट्रपति यादवले प्रधानमन्त्रीलाई प्रधानसेनापति हटाउने निर्णय नगर्न सुझाव दिएका थिए ।
तर प्रचण्डले आफूले कटवाललाई हटाउने निर्णय गरेमा राष्ट्रपतिले के गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा यादवले आवश्यक परे विषयलाई संसद् वा अदालतसम्म पुर्याउन सकिने आशय व्यक्त गरेका थिए ।
राष्ट्रपति यादवले सरकार र राष्ट्रपतिबीच संवैधानिक तथा संस्थागत टकराव निम्तिने अवस्था आउन नदिन निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका थिए । तर प्रचण्डले कटवाललाई हटाउने अडान नछाडेपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई आफ्नो बाटो लाग्न र आफूले पनि आफ्नो संवैधानिक जिम्मेवारीअनुसार निर्णय गर्ने जवाफ दिएको बस्नेतले बताएका छन् ।
राष्ट्रपति कार्यालयले सरकारलाई पठायो पुनर्विचार गर्न पत्र
प्रधानमन्त्री प्रचण्डले कटवाललाई बर्खास्त गर्ने निर्णय गर्दै कुलबहादुर खड्कालाई नयाँ प्रधानसेनापतिका रूपमा नियुक्तिपत्र दिएपछि राष्ट्रपति कार्यालयमा गम्भीर छलफल सुरु भएको थियो ।
राष्ट्रपति कार्यालयका सल्लाहकार तथा उच्च अधिकारीहरूबीच भएको छलफलपछि सरकारको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै संवैधानिक तथा कानुनी प्रावधान उल्लेख गरेर प्रधानमन्त्री कार्यालयमा पत्र पठाउने निर्णय गरिएको थियो । सोही अनुसार राष्ट्रपति कार्यालयले सरकारलाई निर्णयमा पुनर्विचार गर्न पत्र पठाए पनि प्रधानमन्त्री कार्यालयबाट त्यसको जवाफ आएन ।
राति ११ बजे राष्ट्रपतिले आफैँ गरे कटवाललाई निरन्तरता दिने पत्रमा हस्ताक्षर
दिनभरको राजनीतिक तथा संवैधानिक तनावपछि राष्ट्रपति कार्यालयले कटवाललाई पदमा निरन्तरता दिने निर्णय गर्यो । सोही दिन राति करिब ११ बजे कटवाललाई आफ्नो पदमा निरन्तर काम गर्न निर्देशन दिने पत्र तयार गरिएको थियो ।
पत्रमा हस्ताक्षर गर्ने विषयमा प्रशासनिक तहमा समस्या आएपछि राष्ट्रपति यादव आफैँले हस्ताक्षर गरेको बस्नेतले बताएका छन् । राष्ट्रपतिको पत्र पाएपछि कटवाल पुन: सैनिक मुख्यालय पुगेर कमान्ड सम्हाल्न गएका थिए । प्रधानमन्त्रीले बर्खास्त गरेका प्रधानसेनापतिलाई राष्ट्रपतिले पदमा निरन्तरता दिन निर्देशन दिएपछि सरकार र राष्ट्रपतिबीचको विवाद थप चर्किएको थियो ।
एमाले सरकारबाट बाहिरियो, भोलिपल्ट प्रचण्डले दिए राजीनामा
कटवाललाई हटाउने निर्णयपछि प्रमुख सत्तारुढ दल नेकपा एमाले सरकारबाट बाहिरिएको थियो । एमाले बामदेव गौतमको नेतृत्वमा प्रचण्ड सरकारमा सहभागी भएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि सरकारको कदमको विरोध गरेको थियो । त्यसपछि १८ दलका नेताहरू राष्ट्रपति कार्यालय पुगेर प्रधानमन्त्रीको निर्णय रोक्न र परिस्थितिलाई थप जटिल बन्न नदिन आग्रह गरेका थिए ।
त्यसपछि आक्रोशित बनेका प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
राष्ट्रपति यादवले कटवाललाई पदमा निरन्तरता दिन निर्देशन दिएपछि प्रधानमन्त्री प्रचण्डले त्यसलाई सरकारको निर्णय माथिको हस्तक्षेपका रूपमा लिएका थिए । त्यसको भोलिपल्ट अर्थात् २०६६ वैशाख २१ गते प्रचण्ड राष्ट्रपति कार्यालय पुगेर प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामा दिन राष्ट्रपति कार्यालय पुगेका प्रचण्ड त्यसबेला असन्तुष्ट र आक्रोशित देखिएको बताइएको छ ।
प्रधानसेनापति कटवाललाई हटाउने निर्णय, राष्ट्रपतिको पुनर्बहाली निर्देशन, एमालेको सरकारबाट बहिर्गमन र प्रधानमन्त्री प्रचण्डको राजीनामासम्म पुगेको यो घटनाक्रम नेपालको राजनीतिक तथा संवैधानिक इतिहासको महत्त्वपूर्ण विवादका रूपमा रहँदै आएको छ ।
२०६६ सालको यो प्रकरणलाई नेपाली सेनाको नेतृत्व, नागरिक सरकारको अधिकार र राष्ट्रपतिको संवैधानिक भूमिकासँग जोडेर चर्चा गरिन्छ । तत्कालीन घटनामा सेनाको विशेष टोली बालुवाटार परिसरबाहिर परिचालित भएको र सम्भावित अवस्थाका लागि भित्तो भत्काउने उपकरण समेत तयारी अवस्थामा राखिएको बस्नेतको पछिल्लो खुलासाले त्यसबेलाको सुरक्षा पक्षबारे थप चर्चा भइरहेको छ ।