काठमाडौं,फागुन १४ -सरकारले नेपाल ट्रस्टबाट हडपेर व्यक्तिका नाममा दर्ता गरिएका काठमाडौंका विभिन्न स्थानमा रहेका कुल १ सय ७२ रोपनी १५ आना जग्गा पुनः ट्रस्टमै फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ । उपप्रधानमन्त्री तथा नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्ट सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण (श्वेतपत्र) सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
व्यक्तिका नाममा रहेको जग्गा फिर्ता गर्ने प्रक्रियास्वरूप अहिले सरकारले त्यसरी हडपिएका जग्गा खरिद बिक्रीमा रोक लगाएको छ । यसैगरी, सरकारले विभिन्न तरिका अपनाएर नेपाल ट्रस्टको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्यमा संलग्न विभिन्न व्यक्तिलाई पनि कारबाही गर्ने भएको छ ।
७ वर्षअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले ट्रस्टबाट मोहीका नाममा कायम गरिएको काठमाडौंका विभिन्न स्थानमा रहेका बहुमूल्य जग्गा भट्टराई ट्रस्टको संरक्षक र पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला व्यक्तिका नाममा पु(याइएको थियो । भट्टराई नेतृत्वको सरकारले २ कात्तिक २०६९ मा मन्त्रिपरिषद् बैठकबाट निणर्य गरी नेपाल ट्रस्टको जग्गा मोही र उनीहरूको हकवालाका नाममा नामसारी गरिएको थियो ।
त्यतिबेला काठमाडौंको मातातीर्थमा रहेको ५९ रोपनी १ आना ३ पैसा, थानकोट महादेवस्थानमा रहेको १०२ रोपनी ३ पैसा, सतुंगलको १ रोपनी ६ आना १ पैसा, बालाजु र इचंगुमा रहेको १० रोपनी ६ आना १ पैसा गरी कुल १ सय ७२ रोपनी १५ आना सरकारी जग्गा व्यक्तिका नाममा पु¥याइएको तथ्य फेला पारिएको उपप्रधानमन्त्री तथा नेपाल ट्रस्टका अध्यक्ष पोखरेलले जानकारी गराए । उनले अब यस जग्गा जसरी पनि ट्रस्टकै मातहतमा ल्याइने बताए । पोखरेलले सो जग्गा कानुनबमोजिम ट्रस्टकै नाममा हुने दाबी गरे ।
उपप्रधानमन्त्री पोखरेलले यसबाहेक ट्रस्टको अन्य कुनै पनि सम्पत्ति अपचलन नभएको दाबी गरे । नेपाल ट्रस्टको सम्पत्ति कहीँकतै कानुनविपरीत प्रयोग र भोगचलन नभएको दाबी गर्दै उनले १ सय ७२ रोपनी जग्गा कुन सरकारको पालामा कसरी नक्कली मोही खडा गरेर नामसारी भएको छ भनेर आफूहरूले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई जानकारी गराएको बताए । सोही आयोगमार्फत नै हडपिएको सरकारी जग्गा फिर्ता गर्ने प्रक्रिया थालिएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS