काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि धरहराको अण्डरग्राउण्ड क्षेत्रमा पार्किङ खुला गरेको छ । तर, आफूहरूलाई कुनै जानकारी नदिएको भन्दै शहरी विकास मन्त्रालयले भने आपत्ति जनाएको छ ।
शहरी विकास मन्त्रालयका प्रवक्ता बिनु बज्राचार्य कुँवरका अनुसार धरहराको पार्किङ क्षेत्रको काम अझै सकिएको छैन् । उनले भनिन्, ‘हामीसँग काठमाडौं महानगरले समन्वय नगरी एकलौटी ढङ्गबाट पार्किङ खुला गरेको छ । त्यहाँको काम नसकिएकाले अहिले खुला गर्न हुँदै भनेर हामीले भनेका छौँ, तर कुनै आपत्ति भने जनाएका होइनौँ ।’ पार्किङका लागि सबै काम पूरा नभइ खुला गर्दा विभिन्न प्रकारका जोखिम उत्पन्न हुनसक्ने उनको भनाइ छ ।
काठमाडौं महानगर पालिकाका प्रवक्ता नवीन मानन्धरले भने पार्किङ खुला गर्नुअघि नै शहरी विकास मन्त्रालयसँग आफूहरूले समन्वय गरेको दाबी गरेका छन् । ‘हामीले सहरी विकास मन्त्रालयसँग समन्वय गरेर पार्किङ खुला गरेका हौँ । समन्वयबिना कुनै काम गरेका छैनौँ । मन्त्रालयले नकारात्मक कुरा मात्र गर्नु हुँदैन । सकारात्मक सोच बनाउनु पर्छ,’ उनले भने ।
महानगरपालिकाले न्यूरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा काठमाडौं टावरमा नि:शुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो भने हिँजो आइतबारदेखि धरहरामा पनि नि:शुल्क पार्किङको व्यवस्था गरेको थियो । महानगरले यसरी पार्किङको व्यवस्था गरेलगत्तै मन्त्रालयले असहमति जनाए भन्दै समाचारहरू आएका थिए ।
धरहरा निर्माणका लागि २०७५ असोज १४ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, अहिलेसम्म धरहराको पाँच पटक म्याद थप भइसक्दा पनि अझै काम सकिएको छैन । धरहरा निर्माणको जिम्मा लिएको रमन कन्स्ट्रक्सनले पुन: छैटौं पटक म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आगामी २०८१ सालभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
धरहरा वरपरका संरचनाहरू निर्माणको काम जारी रहे पनि धरहरा भने दुई वर्षअघि नै निर्माण सम्पन्न भइ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७८ वैशाख ११ मा उद्घाटन समेत गराइसकेको छ । तर, उद्घाटन भएको दुई वर्ष बितिसक्दा पनि सर्वसाधारणले भने धरहरा चढ्न पाएका छैनन् ।
FACEBOOK COMMENTS