काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लेबनानमा तैनाथ श्री पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरतसिपाही सुवास थापाको निधन भएको छ ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएअनुसार, उनी दोलखा घर भएका थापा उक्त गण हेडक्वार्टरको बंकरमा स्ट्याण्डबाइ ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागी घाइते अवस्थामा फेला परेका थिए ।
गण हेडक्वार्टरमा रहेको अस्पतालमा उपचारका लागि लगिएकोमा त्यही क्रममा माघ १८ गते निधन भएको सेनाको भनाइ छ ।
सिपाही थापाको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको पनि जंगी अड्डाले जनाएको छ ।
हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा त्यसकै असर वा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्नेबारेमा बुझ्ने कार्य भइरहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल लेबनानमा तैनाथ उक्त गणमा रहेका सकल दर्जाको एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको र यही फागुनको दोस्रो हप्ताबाट पालो परिवर्तन (रोटेसन) हुने प्रारम्भिक जानकारी पनि प्राप्त भएको सेनाको भनाइ छ ।
FACEBOOK COMMENTS