काठमाडौं । नेपालको ठेगाना प्रणाली व्यवस्थित गर्न एड्रेसग्राफ नेपालले ‘कता हो’ प्रणाली ल्याउन लागेको छ । क्यान इन्फोटेक २०२४ मा घरमा टाँसिने नम्बर प्लेटबाटै घण्टी बजाउन सकिने अत्याधुनिक नम्बर प्लेट प्रणाली ‘कता हो’ लन्च हुने कम्पनीका निर्देशक राम प्रसाद रिमालले बताएका छन् ।
उनले भने, ‘ कता हो प्रणाली नक्सा नभएर जुनसुकै नक्सामा प्रयोग हुने पूर्वाधार हो । ठेगाना बनाउन र पत्ता लगाउन इन्टरनेटको प्रयोग गर्नु पर्दैन । यो अफलाइनबाट नै प्रयोग गर्न सकिन्छ । ’
‘कता हो’बाट जोसुकैले सजिलै आफ्नो घरको ठेगाना प्लेट बनाउन सकिने र बनाएर टाँस्न सकिने उनको भनाई छ । ५ वर्षको अनुसन्धानपछि विकास भएको मोबाइल एप र वेबमा आधारित ‘कता हो’ नामको ठेगाना प्रणालीमा नेपाल सरकार र सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर समावेश गर्न सकिन्छ ।
त्यस्तै सामुदायिक रुपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बर समेत यो डिजिटल ठेगाना प्रणालीमा राख्न सकिने कम्पनीले बताएको छ । दूर दराजमा रहेको पालिकाको घर, गोठ, टहरा, सीमा चिन्ह, प्राकृतिक सम्पदा जस्ता हरेक स्थानको नम्बर तयार गर्नु यसको मुख्य लक्ष्य रहेको छ ।
दुई दशकभन्दा बढी समयदेखि नेपालमा प्रविधिको अनुसन्धान र विकास गरिरहेको राम लक्ष्मण ग्रुप अन्तर्गत रहेको एड्रेसग्राफ नेपाल प्रा।लिले यो प्रणाली विकास गरेको हो ।
यो प्रणाली सर्वसाधारण, पालिका हरेक तहका सरकार संघ संस्था लगायत हरेकका लागि बहु उपयोगी हुने अपेक्षा कम्पनीको छ ।
FACEBOOK COMMENTS