सप्तरी । सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै आज सप्तरीमा मधेस प्रदेशसभा सदस्य सडकमा उत्रिएका छन् ।
सप्तरीको कल्याणपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आयोजित एक कार्यक्रममा मधेस प्रदेशसभा सदस्य माला कर्ण सडकमै उत्रिएर सवारी साधन रोकेका हुन् । सार्वजनिक बिदामा बिनापासका सवारीसाधन चलाउनेविरुद्ध नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान शाखा सप्तरीले गरेको सडक कार्यक्रममा उनी सहभागी थिए ।
प्रतिष्ठानका शाखा सचिवसमेत रहनुभएकी सांसद कर्णले भने, “सरकारी सम्पत्ति सरकारी कामका लागि मात्र उपयोग हुनुपर्छ, बिदाका दिन सरकारी सवारी दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ ।” बिदाका दिन सरकारी सवारी रोक्नसके पनि धेरै फजुल खर्च कम गर्न सकिने उनले बताए ।
प्रतिष्ठानले आज दिउँसो तीन घण्टा सरकारी नम्बरको सवारी रोक्दै सार्वजनिक बिदाका दिन बिनाअनुमतिका सवारी नचलाउन आग्रह गरेको छ । बिदाका दिन सरकारी सवारी लिएर डुल्न जाने, सामान किनमेल गरी ओसार्न प्रयोग गर्ने र व्यक्तिगत काममा प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सडक कार्यक्रम गरिएको प्रतिष्ठानका सप्तरी अध्यक्ष ध्रुवकुमार मण्डलले बताए । दुरुपयोग रोक्नु नागरिकको दायित्व भएकाले यो कदम चालिएको अध्यक्ष मण्डलको भनाइ छ ।
प्रतिष्ठानले यही माघ ४ गते सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत बिदामा सरकारी साधनको दुरुपयोग रोकी कानुन कार्यान्वयन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
FACEBOOK COMMENTS