लमजुङ — चीनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चिनियाँ नागरिक कुनै परीक्षणबिनै लमजुङ आइपुगेका छन् । उनीहरु क्वारेन्टाइन बसेका छैनन् ।
विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य राष्ट्रलाई कोरोना भाइरस कोभिड–१९० बाट सतर्क रहन चेतावनी दिएको छ। तर, मुख्य प्रभावित देश चीनबाट आएका चिनियाँ नागरिक निर्वाध कार्यक्षेत्रमा प्रवेश गरेका हुन्।
चीनबाट फर्काइएका नेपाली विद्यार्थीलाई १७ दिन क्वारेन्टाइनमै राख्ने निर्णय भए पनि चिनियाँ नागरिक भने त्रिभुवन विमानस्थल झरेपछि सोझै कार्यक्षेत्र लमजुङको ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनामा आएका हुन्।
उनीहरू आएपछि आयोजनामा कार्यरत नेपाली कामदार, प्रवर्द्धक तथा स्थानीय सशंकित छन्। चिनियाँ कामदार भित्रिएपछि डरले नेपाली कामदारले निर्माण कार्य छाडेका छन्।
चिनियाँहरू गत बुधबार राति नेपाल आएका हुन्। आठ जना कार्यक्षेत्रमा आएको र १०र१२ जना आउने क्रममा रहेको आयोजनाका एक अधिकारीले बताए। ‘उनीहरू गोन्झाउ प्रान्तबाट आएका हुन्। पाँच दिन चिनियाँ एयरपोर्टमै बसेर बोर्डिङ पास लिएर आएको बुझिएको छ,’ ती अधिकारीले भने। काठमाडौंबाट उनीहरूसँगै पाँच जना नेपाली चालक पनि आएका थिए।
‘उनीहरू चीनबाट आए। सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा राम्रोसँग जाँचको व्यवस्था गरेको छैन। न क्वारेन्टाइन अनिवार्य गरेको छ,’ ती अधिकारीले भने, ‘जिल्लामा आएर स्वास्थ्य जाँच गराउनुपर्छ र क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने हाम्रो कुरा हो।’ चिनियाँलाई स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बसाउनका लागि जिल्ला प्रशासनलगायतमा अनुरोध गरेको उनले बताए। प्रशासनले उनीहरूको विवरण मागे पनि को आएको हो भन्ने जानकारी लिन नसकिएको ती अधिकारीले बताए।
आयोजनाका प्रशासकीय अधिकृत वासुदेव गड्तौलाले निर्माणस्थलमा चिनियाँ कामदार आउन सुरु भए पनि उनीहरूको स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइन बसेरनबसेको बारे जानकारी नभएको बताए। कार्यक्षेत्रमा आएका चिनियाँलाई मार्च १५ सम्म उनीहरूकै क्याम्पमा बस्न भनिएको उनले बताए। ‘बाहिर ननिस्कन, नेपालीसँग कुराकानी नगर्न र नभेट्न भनेका छौं,’ उनले भने।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको सुरुङमा काम गर्दै कामदार। तस्बिरस् आश गुरुङरकान्तिपुर
लमजुङ जिल्ला सामुदायिक अस्पतालका निर्देशक डा। शरण लिम्बगले प्रकोप फैलिएको चीनको हुबेई प्रान्तबाट आएका चिनियाँलाई क्वारेन्टाइनमा राख्दा राम्रो हुने बताए। ‘कहीँ कतैबाट त्रुटि भएर संक्रमित भित्रिए भने गाह्रो बनाउँछ,’ उनले भने, ‘बरु सबैको राम्रोसँग स्वास्थ्य परीक्षण गर्नु र अनिवार्य क्वारेन्टाइन गराउनु राम्रो हुन्छ।’
सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले आयोजनामा आएका चिनियाँको क्वारेन्टाइन पास गरेको सर्टिफिकेट वा उनीहरू कुन प्रान्तबाट आएका हुन् भन्ने जानकारी मागेको बताए। न्यादी आयोजनाको निर्माण कार्यमा खटिएका चिनियाँ प्राविधिक नयाँ वर्ष मनाउन दुई महिनाअघि घर गएका थिए। कोरोना फैलिएपछि चीन सरकारले आफ्ना नागरिकलाई बाहिरी देश जान प्रतिबन्ध लगाएपछि उनीहरू समयमै नफर्किएका हुन्। जनवरी ५ तारिखमा गएका उनीहरू फेब्रुअरी ५ मा फर्कने कार्यतालिका थियो।
आयोजनाको निर्माण चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले गरिरहेको छ। निर्माणमा अगुवाइ गरिरहेका चिनियाँहरू बिदामा गएपछि नेपाली कामदारलाई पनि बिदा दिइएको थियो।
आयोजना निर्माणमा खटिएका चिनियाँ कामदारको संख्या ६१ छ। निर्माण कम्पनीका मुख्य व्यक्ति, सुपरभाइजर, इन्जिनियरसहित प्राविधिक पक्षका व्यक्ति चीन गएकामा अहिले उनीहरू फर्किरहेका छन्। चार जनाबाहेक सबै नयाँ वर्ष मनाउन गएका थिए। तीमध्ये दुई जना चीनमा कोभिड–१९ संक्रमणको सुरु हुँदा नै फर्किएका थिए।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS