सिन्धुली । कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे आफ्नो गोठमा केही दिनअघि मात्रै जन्मिएको होलिस्टाइन (कोरली) गाईको बाच्छी उमा सुवेदीलाई उपहार दिँदै गर्दा निकै खुसी थिए ।
उपहार दिने घिमिरे र लिने सुवेदी मात्रै होइन यो क्षणको साक्षी बन्न उपस्थित अन्य किसान पनि यो एतिहासिक पललाई रुचिपूर्वक नियालिरहेका थिए । गत वर्षको पुसमा हेफर इन्टरनेसनको अग्रसरता र कोरिया सरकारको सहयोगमा नेपालमा पहिलोपटक यहाँका ५१ किसानलाई ८० होलिस्टाइन (उच्च आनुवंशिक गुण भएका) बाच्छी वितरण गरिएको थियो । त्यसैमध्ये घिमिरेले पालेको ‘तोसेली’ नामक गाईले नेपालमै पहिलो पटक गत माघ २३ गते बाच्छी ‘गाम्सा’लाई जन्म दिएको थियो । कोरिया सरकारको सहयोगमा प्राप्त भएकाले पहिलोपटक जन्मिएको बाच्छीको नाम पनि कोरियन भाषामै राखिएको हो । ‘गाम्सा’ अर्थात् ‘धन्यवाद’ ।
बाच्छी उपहार प्रदानका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल, कमलामाई नगरपालिलकाका प्रमुख उपेन्द्रकुमार पोखरेल, कोइका नेपालका उपनिर्देशक युन्ही चुङ, हेफर इन्टरनेसनलका वरिष्ठ उपाध्यक्ष निना जोशी, हेफर नेपालका राष्ट्रिय निर्देशक डा तीर्थराज रेग्मी, कोरियाका सिओल डेरी सहकारीको पिएजेयु डेरी क्लिनिकका अध्यक्ष तथा प्रमुख पशु चिकित्सक डा यङ्ग–चान किन, हेफर कोरियाका कार्यकारी निर्देशक हेवोन लीलगायतको उपस्थिति थियो ।
“मेरो गोठमा जन्मिएको गाम्सा उमालाई उपहार दिन पाउनु मेरा लागि सौभाग्य हो”, कलिलो गाम्साको शरीर मुसार्दै घिमिरेले भने, “गत वर्ष पुसमा गाम्साजस्तै सानो बाच्छी जन्मिएकी थिइन् । आज त्यही गाईबाट जन्मिएको बाच्छी उपहार दिन पाउँदा निकै खुसी लागेको छ ।”
उपहार स्वीकार्दै सुवेदीले पनि आफू निकै खुसी भएको बताए । “नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन बाच्छी पाउनु मेरा लागि खुसीको कुरा हो”, उनले भने, “भविष्यमै गाईपालनमा लाग्ने सोच बनाएकी मलाई उच्च आनुवंशिक गुणको बाच्छी सहयोगी बन्ने छ ।” सुवेदीले बाच्छी पाउन करिब छ महिना भने कुर्नुपर्ने हुन्छ ।
गाईले जन्माएको बाच्छी उपहार दिने चलन पनि कोरियाबाटै चलेको हो । कोरियामा यसलाई ‘पासिङ द गिफ्ट’ भनिन्छ । अर्थात् आफूले प्राप्त गरेको गाईको पहिलो बेतबाट जन्मिने बच्चालाई आफूजस्तै किसानलाई अनिवार्यरुपमा उपहारका रुपमा दिनु हो । यसबाट गाईपालन गर्ने किसानको सङ्ख्या बढाउँदै लैजाने र धेरैभन्दा धेरै किसानको आयआर्जन बढाउनु हो ।
गुणकुमारीका पति भोला अधिकारीले गाईले ब्याएको आठ दिनसम्म दैनिक २८ देखि ३० लिटरसम्म दूध दिएको बताउनुभयो । “हामीले गत वर्ष ११ महिनाको उमेरको तोसिली (नेपाली नाम माली) गाई प्राप्त गर्दा तीन सय किलोको थियो । अहिले उसको तौल छ सय ७८ किलो पुगेको छ । बाच्छी जन्मने बेलामा ४५ किलो तौल थियो । गाईले अहिले दैनिक ३० लिटरसम्म दूध दिइरहेको छ”, उनले भने ।
अधिकारीले गाई ब्याएको सातौँ दिनदेखि डेरीमा दूध बिक्री सुरु गरेको बताए । “डेरीमा दूध प्रतिलिटर ७६ देखि रु ७७ सम्म बिक्री भएको छ”, उनले भने, “गाई ब्याएको २२ दिनदेखि दूध बढ्ने छ ।” तेह्र महिनासम्म गाई पाल्दा करिब एक लाख ७५ हजार खर्च भएको उल्लेख गर्दै उनले दूध बिक्रीबाट लागेको खर्च तीनदेखि चार महिनामा उठिसक्ने बताए । सो गाईको दूध बिक्रीबाट मासिक ६० हजारसम्म आम्दानी गर्ने अधिकारीको लक्ष्य छ ।
गत वर्ष यसरी होलिस्टाइन बाच्छी पाउनेमा तल्लोराजपानी महिला उद्यमी समूहकी सदस्य रुकमणि अधिकारी पनि छन् । उनले तत्कालीन समयमा दुई गाई पालेका थिए । अहिले दुवै गाई गर्भवती छन् । “गत वर्षको पुसमा हामीले गाईका बाच्छी पाउँदै गर्दा कहिले ठूलो होलान र ब्याउलान, अनि आम्दानी गर्न पाइएला भन्ने लागेको थियो, तर तीमध्ये एउटा गाई ब्याएको छ”, उनले भने, “मसँग भएका दुई गाई वैशाखमा ब्याउनेवाला छन् । होलिस्टाइन गाईले पर्याप्त दूध दिने भएकाले यसको बिक्रीबाट आम्दानी बढाउन सकिन्छ भन्ने विश्वास जागेको छ ।”
अधिकारी लामो समयदेखि गाईपालनमै हुनुहुन्छ । पहिले स्थानीय जातका मात्रै गाईपालन गर्ने उहाँले एक वर्षयता स्थानीय जातका गाई घटाउँदै लगे । “हाम्रो मुख्य पेसा नै गाईपालन हो, पहिले ३० वटासम्म स्थानीय जातका गाई थिए । त्यो बेलामा दैनिक ८० लिटरसम्म दूध बेचिन्थ्यो, अहिले कम भएको छ”, उनले भने, “अहिले स्थानीय जातका ११ र होलिस्टाइन दुई गाई मात्रै छन् । वैशाखमा दुई होलिस्टाइन गाई ब्याएपछि दूध बिक्री बढ्ला भन्ने आश छ ।”
स्थानीय जातका गाईले अधिकतम दिनमा १० लिटर मात्रै दूध दिने गरेको अधिकारी बताए । “असाध्यै राम्रो स्याहार पायो भने दिनमा बढीमा १० लिटर दूध दिने हो, तर होलिस्टाइन जातको गाईले दिनमा ३० देखि ४० लिटरसम्म दूध दिने रहेछ । यसबाट हाम्रो आम्दानी स्वभाविक रुपमै बढ्नेछ ।”
अधिकारी अहिले एउटा होलिस्टाइन गाईलाई दैनिक चार किलो दाना र १० किलो घाँस खुवाए । एउटा बोरा दाना खरिद गर्दा दुई हजार आठ सय खर्च हुने गरेको उनले बताए । त्यसबाहेक हरियो घाँस र कटिङ परालमा पनि खर्च हुन्छ ।
कमलामाई नगरपालिकामा होलिस्टाइन गाईपालनका लागि विभिन्न नाममा महिलाका समूह पनि गठन भएका छन् । यहाँ दमार महिला समूह, गैँयादेवी महिला समूह, तल्लोराजपानी महिला उद्यमी समूह, माथिल्लो राजपानी महिला उद्यमी समूहलगायत छन् । यी समूहमा हाल एक सय नौ महिला आबद्ध छन् । विभिन्न समूहमा विभाजन भए पनि गाईपालनमा भने एक अर्काबीच सहकार्य भइरहने अधिकारीले बताए । गाईलाई खुवाइने दाना पनि हेफरले ३० प्रतिशत छुटमा उपलब्ध गराउँदै आएको छ ।
गत वर्ष कमलामाई–४ र ५ मा हेफर इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सिन्धुली एकीकृत विकास सेवा नेपाल र लाभान्वित समुदायको सहकार्यमा दुग्ध क्षेत्र रुपान्तरण परियोजना सञ्चालन गरिएको थियो । उक्त परियोजना नेपाल सरकार तथा हेफर कोरियाबाट नेपालको दुग्ध क्षेत्र रुपान्तरण गर्ने उद्देश्यले सुरु भएको हो । तत्कालीन समयमा प्राप्त भएका ८० मध्ये पाँच गाई भने मरिसकेका छन् । हाल ७३ गाई गर्भवती छन् ।
FACEBOOK COMMENTS