काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले बैंकिङ्ग क्षेत्रमा भएको धरपकड र पक्राउले आतंकित बनेको जनाएका छन् ।
नेपाल बैंकर्स सघं, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै धरपकड र पक्राउले बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको जनाएका छन् ।
मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले १० जना बैंकर पक्राउ गरेपछि संयुक्त विज्ञप्ति जारी गरेर यस्तो जनाएका हुन् ।
‘प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरु तथा बैंकिङ्ग क्षेत्रको मान्य सिद्धान्तहरुको अधिनमा रही काम गरि रहेका बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरुले असल नियतबाट गरेको कामलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाईनु हुन्न भन्ने हाम्रो धारणा रहेको छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अपराधी उम्किन नहुने तथा निर्दोषले सजाय पाउन नहुने भन्ने न्यायका सिद्धान्तमा हामी प्रतिवद्ध रहेका छौं । साथै, बैंकिङ्ग कसूरसंग सम्बन्धित अनुसन्धान प्रक्रिया “पहिला सुन अनि थुन” हुनु पर्नेमा “पहिले थुन अनि सुनको” प्रक्रियाले बढावा पाएको छ । यसले बैंकरहरुको मानसिक तथा सामाजिक अवस्थामा गम्भिर असर पु¥याएको, यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरुको मनोवल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा समेत यसले असर पुग्न जाने कुरा सम्बन्धीत सबैलाई अवगत गराउन चाहन्छौ ।’
बैंक तथा वित्तीय संस्थाहरुले चल अचल सम्पत्ति बाहेक परियोजना, व्यापार, नगद प्रवाह लगायत थुप्रै आधारहरु हेरेर नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको अधिनमा रही कर्जा प्रवाह गर्ने गरेकाे उल्लेख छ । समस्त ग्राहकहरुको हक–हितलाई मुख्य प्राथमिकतामा राखी निक्षेपकर्ताहरुको बचतलाई सुरक्षित गर्दै, ऋणीहरुलाई कर्जा प्रवाह गरी देशमा आवश्यक पुँजी निर्माणमा यस क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
पारदर्शी रुपमा नियामक निकायबाट निर्देशित सिद्घान्तलाई अक्षरस पालना गर्दै अगाडी बढीरहेको संवेदनशील वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु भय रहित रुपमा काम गर्ने वातावरणको सुनिश्चितताको प्रत्याभूती गराउन सम्बन्धित निकायसँग माग गरिएको छ ।
बैंकिङ्ग क्षेत्र जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको धरपकड एवं पक्राउ बारे समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित र आतंकित बनेको, यसबाट यस क्षेत्रका कर्मचारीहरुको मनोवल समेत खस्कन गएका हुंदा राज्यका सम्बन्धित निकायहरु यस बिषयमा गम्भिर भईदिन आग्रह गरिएको छ । ‘कर्जा लगानीका सम्बन्धमा नियमकिय निर्देशनको परिधिभित्र रहि आ आफ्नो कर्जा नीति तथा कार्यविधि भित्र बसी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको काम कारवाहीलाई नै आधारमानी हुने घरपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउन सक्ने भएकाले तत्कालै यस तर्फ गम्भीर भई दिन समेत हामी सम्बन्धित सबैलाई आग्रह गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS