काठमाडौं । मानिस, पशुपन्छी र कृषि उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा हुने आवातजावत र ओसारपसारले कृषि तथा पशुपालनको क्षेत्रमा ठुला र डरलाग्दा समस्या ल्याएको छ । खुला सीमा र कमजोर क्वारेन्टाइन (चेकजाँच) का कारण नेपालमा त्यस्ता सङ्क्रमणको जोखिम बर्सेनि बढिरहेको छ ।
यस्तो समस्या रैथाने जातमा नदेखिए पनि पछिल्लो समय वर्णशङ्कर ९हाइब्रिड० जातको बाली, बोटबिरुवा र पशुमा देखिने गरेको छ । विदेशबाट भित्र्याइएका बाली तथा पशुपन्छी र माछामा रोग किराको सङ्क्रमण बढ्दो रूपमा देखा परिरहेको छ । पशु चिकित्सक मणिप्रसाद सापकोटाले समयमै सावधानी अपनाउन नसक्ने हो भने किसानले ठुलो क्षति बेहोर्नुपर्ने बताएका छन् ।
कृषि र पशुमा यसअघि नदेखिएका रोग, किरा र सङ्क्रमणले किसान समस्यामा परेका छन् । आधुनिक खेती प्रणालीको विकाससँगै हाइब्रिड बिउको प्रयोग र पशुमा नयाँ जातको विकासका लागि आयात बढेसँगै विभिन्न मुलुकबाट छिरेका नयाँ सङ्क्रमण र रोगले किसानले ठुलो क्षति बेहोर्नु परेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत दीपकप्रसाद पौडेलले विश्वका विभिन्न मुलुकबाट पशु र खेती प्रणालीलाई ध्वस्त पार्ने खालका रोग भित्रिएको बताए । उनले नेपालमा विभिन्न कालखण्डमा विश्वका विभिन्न स्थानबाट सङक्रमण फैलिएको जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS