काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तयारी पोशाक उद्योग मुलुकको अर्थन्त्रको मेरुदण्डका रुपमा रहेकाले यो क्षेत्रको विकासमा ध्यान दिन अनुरोध गरेका छन् । नेपाल तयारी पोशाक उद्योग सङ्घको २९औँ वार्षिक साधारणसभामा यस्तो बताएका हुन् ।
सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउन थप सहयोग आवश्यक भएको उनले बताए ।
नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अर्थतन्त्रलाई चलायमान बनाउन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन सुझाव दिए । आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरे ।
नेपाल तयारी पोशाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले तयारी पोशाक उद्योगलाई प्रवद्र्धन गर्न नीतिगत सुधार, प्रक्रियागत सरलीकरण तथा व्यावसायिक वातावरण बनाउनुपर्नेमा जोड दिए ।
सन् १९८७ मा स्थापना भएको सङ्घमा एक सयभन्दा बढी तयारी पोशाक उद्योगी आबद्ध छन् । तयारी पोशाक उद्योग क्षेत्रमा ४० हजार रोजगारी सृजना भएको सङ्घले जनाएको छ ।
गत आवमा भारत तथा तेस्रो मुलुकमा करिब नौ अर्ब बराबरको तयारी पोशाक निर्यात भएको सङ्घले जनाएको छ । तयारी पोशाक प्रमुख निर्यातजन्य वस्तुको सूचीमा छ । गलैँचा प्रथम र तयारी पोशाक दोस्रो स्थानमा रहेको सङ्घका अध्यक्ष पाण्डेले जानकारी दिए ।
त्यस अवसरमा उपप्रधानमन्त्री महासेठले सन् २०२२-२३ मा भारत तथा तेस्रो मुलुकमा सबैभन्दा बढी तयारी पोशाक निर्यात गर्ने तीन उद्योगलाई सम्मान प्रदान गरे । सो अवधिमा ट्राई क्रट इन्डस्ट्रिजले एक अर्ब १७ करोड, नेपाल फेसन प्रालिले ६६ करोड र पल्स फेसन सोलुसन प्रालिले ४३ करोडको तयारी पोशाक निर्यात गरेको थियो ।
FACEBOOK COMMENTS