काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बेबी लाइफ होमलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाइफ होमलाई आर्थिक सहयोग स्वरुप रू. दुई लाख प्रदान गरेको हो ।
बैंकले आफ्नो सत्रौं वार्षिक उत्सव आगामी वैशाख ७ गते मनाउँदै छ । सोही उपलक्ष्यमा सो संस्थालाई आर्थिक सहयोग प्रदान गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बेबी लाइफ होममा रहेका २७ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए ।
विशेष गरी विपन्न समुदायमा जन्मेका एचआईभी पोजिटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस् भन्ने हेतुले बैंकले एक समारोहका बीच रू दुई लाखको चेक संस्थाका सञ्चालक पुनलाई हस्तान्तरण गरेको हो ।
हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।
हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने तयारी गरिरहेको छ ।
FACEBOOK COMMENTS