काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका ऋणी र बचतकर्तालाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।
समस्याग्रस्त भएको उक्त सहकारीका बचतकर्ता तथा ऋणीलाई सहकारी व्यवस्थापन कार्यालयले एक सूचना जारी गर्दैसम्पर्कमा आउन भनेको हो । लालीगुराँसलाई गत फागुन २९ गते समस्याग्रस्त घोषणा गरिएको थियो । सो पश्चात् उक्त सहकारीको सम्पत्ति तथा दायित्वको भुक्तानी कार्य सम्बन्धीको जिम्मा समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयलाई दिइएको हो ।
कर्मचारी तथा सञ्चालकलाई उक्त सहकारीको कागजात पेश गर्न कार्यालयले भनेको छ । यस्तै ऋणीलाई पनि कार्यालयमा आएर ऋण चुक्ता गर्न र बचतकर्तालाई बचत फिर्ताको आवेदन माग भए पनि आवेदन दिई बचत फिर्ता लिन पनि समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयले भनेको छ ।
सहकारीले जनताको बचत दुरुपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि किन समस्याग्रस्त घोषणा नगर्ने भनेर सहकारी विभागले १५ माघमा स्पष्टीकरण सोधेको थियो ।
तर, सहकारीले चित्तबुझ्दो जवाफ नदिएपछि विभागले समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको थियो । मन्त्रालयले फागुन २९ गते समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयलाई आवश्यक काम कारबाहीको जिम्मा दिइएको थियो ।
FACEBOOK COMMENTS