काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर फिलिप ज्याक्शनको उपस्थितिमा जीवन बीमासम्बन्धी विशेष अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
जीवन बीमाका समसामयिक विषयउपर छलफल गर्ने अभिप्रायका साथ संसारमै लब्धप्रतिष्ठित तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा नेपाल लाइफका एक्चुअरी फिलिप ज्याक्शनको उपस्थितिमा काठमाडौंको होटेल एम्बेसडरमा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न उक्त विशेष कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारीहरू, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका साथ कार्यक्रम आयोजना गरिएको स्पष्ट गरे । यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरूलाई अन्तर्राष्ट्रियस्तरमा भइरहेका विकासक्रम तथा असल अभ्यासहरूसँग चिरपरिचित हुन सहज हुने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अथिति तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले विशेष कार्यक्रम आयोजनका निम्ति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै अहिले बदलिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न पहलकदमीहरू चालिरहेको बताए । संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरू जारी गर्दै आएको समयमा संसारमा भइरहेको अभ्यासको जानकारी सोही क्षेत्रमा प्रत्यक्षय रूपमा काम गरीरहेका फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको बताए ।
बीमा बजारको विकासका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरू हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा यस कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर, समस्या र चुनौतीका बारेमा बृहत् प्रस्तुतिकरण दिएका थिए । साथै, नेपाली जीवन बीमा कम्पनीहरूलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गरेका थिए । त्यसका साथसाथै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा समेत प्रकाश पारेका थिए ।
सैगरी, ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरू प्रकट गर्दै अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा प्रकाश पार्दै नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न के कस्तो रणनीति अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा पनि आफ्नो सारगर्भित सल्लाहहरू दिए । साथै, उनले अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरूलाई औंल्याउँदै यसलाई अन्तर्राष्ट्रिय अभ्यासहरूसँग दाँजेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरा पनि सल्लाह सुझावका रूपमा उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूद्वारा तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूबाट आएका जिज्ञासाहरूको जवाफ फिलिप ज्याक्शनले दिएका थिए । कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने कुरा बताए ।
FACEBOOK COMMENTS