काठमाडौं । नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको आज ब्रेक थ्रु भएको छ । सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न नेता तथा ओहोदाका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री उपस्थित रहने भएपछि सुरुङ्ग मार्ग भित्रनै रेड कार्पेट र सोफा ओछ्याएर स्वागत गरिएको थियो । सुरुङ मार्ग भित्रै रेड कार्पेट र सोफा प्रयोग गरिनुलाई कतिपयले निकै अशोभनीय भएको भनी चर्चा गरिरहेका छन् ।
सुरुङ्गमार्ग भित्रनै किन राखियो सोफा, राख्नु पर्ने कारण के थियो । के प्रधानमन्त्री आउँछु भन्ने बित्तिकै सोफा राख्नु नै पर्ने थियो र । भन्ने जस्ता प्रश्नहरु उठाइएका छन् ।
चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ ।
आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो ।
आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।
त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
https://fb.watch/rsVI3Mmvpy/
FACEBOOK COMMENTS