बुटवल । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले स्थानीय सरकारलाई दिने समानीकरण अनुदान निकास नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।
आज बिहीबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा अध्यक्ष ढुंगानाले सम्झौता भइसकेका आयोजनाहरू अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय भएको र सो निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताउँदै सिंहदरबार घेर्ने चेतावनी दिएका हुन् ।
नीलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुंगानाले प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघको तर्फबाट पटक–पटक रकम निकासाका लागि आग्रह गरेको बताए । ‘प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै अब जेठ पहिलो हप्तासम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरूले सिंहदरबार घेर्ने चेतावनी दिन चाहान्छौँ,’ उनले भने, ‘हामीलाई अझै पनि विश्वास छ सम्माननीय प्रधानमन्त्रीले वचन दिएअनुसार रकम निकासा हुन्छ । यदि जेठ पहिलो हप्तासम्म पनि रकम निकास नभए जेठको दोस्रो हप्तादेखि सिहंदरबार केन्द्रित आन्दोलन हुन्छ ।’
अध्यक्ष ढगांनाले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई समेत आन्दोलनका लागि काठमाडौंमा जानुपर्ने हुन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह समेत गरेका छन् । ‘यदि रकम निकासा भएन भने जेठको दोस्रो हप्ता काठमाडौं आउनुपर्ने हुन्छ म सबै स्थानिय सरकार प्रमुखहरूलाई समेत त्यसको तयारी गर्न आग्रह गर्दछु,’ उनले भने । उनले संघीय र प्रदेश सरकारलाई संविधानविपरीत नजान समेत चेतावनी दिएका छन् ।
FACEBOOK COMMENTS