काठमाडौं । संविधान सभा सदस्य एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य स्व. पशुपति चौलागाईंको सम्झनामा स्मृति सभा आयोजना गरिएको छ ।
दोलखाबाट बामपन्थी राजनीतिमा उदाएका नेता चौलागाईंको सम्झनामा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले हिजो शुक्रबार स्मृति सभा आयोजना गरेको हो । मञ्चका अध्यक्ष उमेश खड्काको अध्यक्षता तथा पार्टीका केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृत कुमार बोहोराको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि र सहभागीहरूले स्वर्गीय नेताको तस्बिरमा माल्यार्पण गर्दै पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरे । कार्यक्रमका वक्ताहरूले स्वर्गीय नेता पशुपति चौलागाईंको सामाजिक र राजनीतिक यात्रा तथा दोलखाको विकास निर्माणका कार्यहरूमा उनले गरेको अगुवाइको चर्चा गरेका थिए ।
कसले के भने ?
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका एमाले केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृत कुमार बोहोराले पशुपति चौलागाईं दोलखाका आधारभूत तहका जनताका ढुकढुकी र सादा जीवनशैली अपनाउने निष्ठावान नेता भएको बताए । नेता चौलागाईंलाई कम्युनिष्ट पार्टीको सदस्यता दिनेदेखि अन्तिम विदाइमा पार्टीको झण्डा ओढाउनेसम्मको संयोग आफूलाई प्राप्त भएको स्मरण गर्दै बोहोराले चौलागाईंकै अगुवाइमा दोलखाको बामपन्थी आन्दोलनले संस्थागत स्वरूप पाएको चर्चा गरे ।
मुलुक परिवर्तनका लागि तत्कालीन समयमा भूमिगत राजनीति रोजेका चौलागाईंले पार्टी, जनता र लोकतन्त्रलाई सर्वोपरी ठानी कम्युनिष्ट आन्दोलनलाई अतुलनीय योगदान पुर्याएको उनले बताए । ‘त्यतिबेला हाम्रो पार्टी प्रतिबन्धमा थियो । पार्टीलाई सहयोग गर्न कि भूमिगत हुनुपर्थ्र्यो, कि त कुनै पेसा वा व्यवसाय गर्दै पार्टीको काम गर्नुपर्ने अवस्था थियो । तर, उहाँले भूमिगत राजनीति रोजेर नेपालको बामपन्थी आन्दोलनमा अतुलनीय योगदान गर्नुभएको छ,’ नेता बोहोराले भने, ‘कम्युनिष्टको आदर्श, नैतिकता र चरित्र के हो भनेर उनको जीवनशैली र लगावबाट सिक्नुपर्नेछ ।’
चौलाईंको क्षमता, आदर्श, सादगी शैलीलाई अनुशरण गरेर जनताको पक्षमा उनले गर्न बाँकी र देखेका सपना पूरा गर्नेगरी काम गर्दा मात्रै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । श्रम र उत्पादनसँग नजोडिई कम्युनिष्टहरू सफल हुन सक्दैनन् भनेर सहकारीलगायत विभिन्न उत्पादनका कामको अगुवाइ गरेका नेता चौलागाईको सपना पूरा गर्नु नै सच्चा कम्युनिष्टको धर्म र कर्तव्य हुने उनको भनाइ थियो ।
यस्तै, पार्टीका पोलिटव्युरो सदस्य आनन्द प्रसाद पोखरेलले पशुपति चौलागाईं दोलखाको विकास र समृद्धिबारे चिन्तन गर्ने नेताका रूपमा चर्चा गरे । देशकै ठूलो जलविद्युत् आयोजनाका रूपमा माथिल्लो तामाकोशी दोलखामा निर्माण भएको र सो आयोजनाको सफलतामा स्वर्गीय पशुपति चौलागाईंको अतुलनीय योगदान गरेको नेता पोखरेलले बताए । ‘अहिले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण भएको छ । सो आयोजना निर्माणका लागि नेकपा एमालेको तर्फबाट उहाँले लिनुभएको पहलकदमी महत्वपूर्ण योगदानका रूपमा रहेको छ,’ नेता पोखरेलले भने, ‘स्वर्गीय पशुपतिजी विकासवादी र विकासको नेतृत्वकर्ता नेता हुनुहुन्थ्यो । समृद्धिको कुरा गरेर मात्र हुँदैन भनेर दोलखामा भएका सम्भावनाहरूको पहिचान गरी अभियान नै चलाउनुभएको थियो ।’ कृषि, जडीबुटी र पर्यटनमार्फत दोलखाको समृद्धि हासिल गर्न सकिने सम्भावना नेता चौलागाईंले औंल्याएको र त्यसमा अधिक काम गरी जिल्लाको विकासमा जोडिएर काम गर्नुपर्ने र ती कामले सफलता पाउँदा चौलागाईंको आत्माले शान्ति पाउने उनको भनाइ थियो ।
नेकपा एमाले केन्द्रीय सम्पर्क समन्वय कमिटीका प्रमुख श्याम कुमार बस्नेतले स्वर्गीय नेता पशुपति चौलागाईंले देखाएको बाटोमा हिँड्न सक्नुनै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए । नेता चौलागाईंले देखाएको इमान र निष्ठाको राजनीतिलाई हामी सबैले पछ्याउनुपर्ने धारणा उनको थियो । दोलखाको समृद्धिबारे चिन्तन गर्ने नेताको अभावमा दोलखाले धेरै कुरा गुमाइरहेको चर्चा उनले गरे ।
यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् दोलखाका युवा नेता अजयबाबु शिवाकोटीले पशुपति चौलागाईं सहृदयी र साझा नेता भएको टिप्पणी गरे । ‘दोलखाको विकास र नेतृत्वका सन्दर्भमा दुई जना नेताहरू मेरो सधैं मेरो स्मरणमा रहनुभएको छ, नेपाली कांग्रेसका आदरणीय भीमबहादुर तामाङ र नेकपा एमालेका पशुपति चौलागाईं,’ उनले भने, ‘पशुपति चौलागाईं राजनीतिक, सामाजिक र विकासवादी नेता मात्र होइन शैक्षिक क्षेत्रका पनि अगुवाइ गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । पछिल्लो समय श्रम र शीपलाई जोडतोडका साथ अघि बढाइरहनुभएका नेता चौलागाईंको अकल्पनीय निधनबाट दोलखा मात्र नभइ मुलुकले समेत अतुलनीय क्षति व्यहोरेको छ ।’
यस्तै, एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका पुराना नेता जितवीर लामाले पशुपति चौलागाईंलाई दोलखाको ‘पशुपति’ बनाउनेगरी अघि बढ्नुपर्ने बताए । भूमिगत समयमा समेत निडर भएर दोलखाली जनताको पक्षमा काम गरेका नेताको सम्झना वर्षमा एकपटक मात्रै गरेर नपुग्ने उनले बताए । जनतासँगको लगाव स्थापित गरेका नेता चौलागाईंको जीवनशैलीबाट अहिलेका र भावी पुस्ताले समेत धेरै कुरा सिक्नु जरुरी रहेको उनको भनाइ थियो । खासगरी राजनीतिमा लाग्ने युवाहरू पशुपति चौलागाईंलाई पढ्नुपर्ने तर्क उनको थियो ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले त्यागको राजनीति स्वर्गीय नेता पशुपति चौलागाईंबाट सिक्नुपर्ने बताए । अहिले हतारमा जिम्मेवारी लिन हौसिने र जिम्मेवारी पाइसकेपछि काम नगर्ने प्रवृत्तिको विकास हुँदा संगठनहरू निष्प्रभावी भइरहेको अवस्थामा उनले देखाएको कम्युनिष्ट आचरण, जीवनशैली र निष्ठाको पाठ वर्तमान राजनीतिज्ञहरूले राम्रोसँग पढ्नुपर्ने भनाइ उनको थियो । तत्कालीन प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष समेत रहेका चौलागाईंको मार्गनिर्देशबाट अवसरवादको राजनीति गर्ने परम्परा सधैंका लागि अन्त्य गरिनुपर्ने अध्यक्ष थेवेको भनाइ थियो ।
यस्तै, नेकपा एमाले बागमती सम्पर्क कमिटीका अध्यक्ष अशोक ठकुरीले पनि नेता चौलागाईंको योगदानको चर्चा गर्दै सधैं उनलाई सम्झिनेगरी काम गर्नुपर्ने बताए । एउटा राजनीतिकर्मीका लागि राजनीतिक निष्ठा र इमानदारिता निकै ठूलो विषय भएको र स्वर्गीय चौलागाईंले त्यसलाई बचाएर राख्न सफल भएको भन्दै उनको आत्मालाई शान्ति दिनका लागि पनि उनले देखेका दोलखा विकासको सपना दोलखाका नेताहरूले पूरा गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमाले जिल्ला कमिटी दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले कुनै पनि आन्दोलनलाई धोका नदिएको र राजनीतिक निष्ठा जोगाउन सफल नेताका रूपमा चित्रण गरे । ‘मुलुकको संसदीय फाँटमा समेत महत्वपूर्ण योगदान पुर्याउनुभएका नेता पशुपति चौलागाईं निष्ठावान र सबैलाई समान रूपले हेर्नुहुन्थ्यो । कहिल्यै विवाद र आलोचनामा पर्नुभएन, उहाँको आलोचना गरिएको समाचार सुन्न र पढ्न परेन । कुनै पनि आन्दोलनलाई धोका दिनुभएन,’ उपाध्यक्ष मानन्धरले भने ।
तत्कालीन राजनीतिक र सामाजिक परिवेशका कारण कक्षा पाँचसम्मको मात्रै अध्ययन गर्न पाएका नेता चौलागाईंको परिवार समेत अभावबाट गुज्रिएको चर्चा गर्दै उपाध्यक्ष मानन्धरले भने, ‘सामाजिक र राजनीतिक परिस्थितिले पढ्न पाउनुभएन । क्रान्तिकारी बन्न अभावले केही नछेक्ने रहेछ भन्ने कुरा हउाँबाट सिक्न जरुरी छ । गरिब परिवारमा जन्मे पनि समाज र देशलाई केही दिन सक्छ भन्ने कुरा उहाँबाट सिक्नुपर्छ ।’ नेताहरूले समयमै ख्याल नपुर्याउँदा कोभिड–१९ को संक्रमणबाट नेता चौलागाईंको ज्यान गएको उनले बताए । दोलखाको नेतृत्व गर्ने एमालेका पशुपति चौलागाईं र नेपाली कांग्रेसका भीमबहादुर तामाङलाई दोलखाली जनताले सधैं सम्झिरहने उनको भनाइ थियो ।
कार्यक्रममा चौलागाईंका परिवारका तर्फबाट उनका छोरा सुमन चौलागाईंले सङ्क्षिप्त मन्तव्य दिए थिए । आफ्नो स्वर्गीय पिताको स्मरणमा कार्यक्रम आयोजना गरेकामा नेकपा एमलो दोलखा काठमाडौं सम्पर्क मञ्चलाई धन्यवाद दिँदै उनले आफ्नो बुबाले दखेको सपना पूरा गर्न आफू र आफ्नो परिवार समेत लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
मञ्चले आयोजना गरेको स्मृति सभामा पार्टीका स्थायी कमिटी सदस्यहरू डिा. शिवमाया तुम्बाहाम्फे, शेरबहादुर तामाङ र भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य आनन्द प्रसाद पोखरेललगायत केन्द्रीय कमिटीका सदस्यहरू, बागमती प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू, पार्टी जिल्ला कमिटी सदस्यहरू, सम्पर्क मञ्चका सदस्यहरू, जनवर्गीय संगठनका नेतृत्वहरू, विभिन्न पार्टीका प्रतिनिधिहरू लगायत विभिन्न तहका व्यक्तित्वहरूको उपस्थिति थियो ।
कोरोना सङ्क्रमणबाट नेता चौलागाईंको २०७८ वैशाख २८ गते राति निधन भएको थियो । २०५६ सालमा दोलखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनी दोस्रो संविधान सभामा समानुपातिकतर्फ संविधान सभा सदस्य बनेका थिए । यस्तै, २०७४ को निर्वाचनमा दोलखाको प्रदेश सभा ‘ख’बाट वागमती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
एमाले बिगुमा प्रवीण खड्काको नेतृत्वमा बन्यो ४५ सदस्यीय नयाँ कमिटी (नामावलीसहित)
एमालेको पालिका अधिवेशनबाट समसामयिक र सार्वजनिक महत्वको प्रस्ताव पारित (प्रस्तावहरूसहित)
FACEBOOK COMMENTS