काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै डा. गोविन्द केसीले फेरि अनसन थालेका छन् ।
सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा प्रधानमन्त्री पदबाट प्रचण्डको राजीनामा माग गर्दै उनले अनसन सुरू गरेको बताएका छन् । स्वास्थ्य क्षेत्रका विभिन्न समस्या समाधानको माग गर्दै बारम्बर अनसन बस्दै आएको केसीको यो अनसन २२औं पटकको हो ।
आज शनिबार अनशन सुरू गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले भनेका छन्, ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्ड त पदमा रहँदा सधैंभर आफ्नो दण्डहीनताका लागि सिंगो संक्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ । त्यसैले निष्पक्ष रुपमा र पीडितहरुले न्यायको अनुभूति गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया नटुंगिउन्जेल पदमा बस्ने उनको कुनै पनि नैतिक तथा कानुनी धरातल छैन । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ ।’
बृहत शान्ति सम्झौतापछि द्वन्द्वकालमा मानव अधिकार हनन्, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरु र दलहरु नै अहिलेसम्म निरन्तर सत्तामा रहेको भन्दै केसीले उनीहरुले शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाएका छन् ।
FACEBOOK COMMENTS