काठमाडौं । नेपाल राष्ट्र बैकले गरेको मौद्रिक नीतिको तेस्रो समिक्षाका बारेमा नाडाले धारणा सार्वजनिक गरेको छ ।
आज आर्थिक बर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाका सम्बन्धमा नाडाको ध्यानाकर्षण भएको जनाएको छ ।
समिक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरिनेछ समेत भनिएको छ ।
उक्त समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ भनिएको छ ।
सो समिक्षामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असलवर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ भनिएको छ । यो ज्यादै सकारात्मक रहेको नाडाले जनाएको छ ।

नाडाले नेपालको अटोमोवाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न महत्वपूर्ण निम्न नीतिगत सुझावहरु दिएको जनाएको छ ।

पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सिमा तोकिएको छ । जसले गर्दा अटोमोवाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेकोले लोन टू भ्यालु ५० प्रतिशत बढाएर ७५ प्रतिशत. पु¥याउनु पर्ने जनाएको छ ।

राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरिदिनु पर्ने माग रहेको छ ।

घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने जनाएको छ ।
सवारी साधनको लागि आफै प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १० प्रतिशत धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरुलाई नै प्रदान गरिनु पर्ने भनि नाडाले दिएका सुझावहरुका विषयहरुमा भने उक्त समिक्षामा कुनै सम्बोधन नगरेको गुनासो गरेको छ ।
राष्ट्र बैंकले ल्याएका यी आशिंक सुधारहरु निश्चय नै सकारात्मक छन् र नाडाले दिएको उक्त सुझावहरु पनि आउदा दिनहरुमा नेपाल राष्ट्र बैंकबाट सम्बोधन हुदै जाने विषयमा सम्पूर्ण अटोमोवाइल व्यवसायीहरु विश्वस्त रहेको नाडाले जनाएको छ ।