काठमाडौं । नेपाल भेटेरिनरी एसोसिएशनले बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको बताएको छ ।
एसोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले आज विज्ञप्ति जारी गर्दै यसबारे बजारमा फैल्याइएको हल्लामा सत्यता नरहेको स्पष्ट पारेका हुन् । ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिए जस्तो कुनै पनि रोग मानिसमा सर्दैन ।’ त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभीएले आग्रह गरेको छ । केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोष्ट गरी जनमानसमा त्रास सृजना गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने काम तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पनि एसोसिएशनले माग गरेको छ ।
FACEBOOK COMMENTS