काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति निजी क्षेत्रले आपत्ति प्रकट गरेको छ ।
आज बिहीबार नेपाल उद्योगा वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको हो ।
‘सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौँ । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्पm हामी ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
विगत देखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने भन्दै आइरहेको छ । ‘उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
मुलुक अहिले आर्थिक सङ्कटको अवस्थाबाट माथि उठिसकेको छैन । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरूलाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुँदैन भन्ने निजी क्षेत्रको सुझाव छ ।
‘कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरूलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न सक्दैन,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवम् लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ । देशभित्र व्यावसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्नेतर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
FACEBOOK COMMENTS