काठमाडौं । आरोही, पर्यटन व्यवसायीलगायतका प्रतिनिधिले खचाखच नेपाल प्रज्ञा(प्रतिष्ठानको सभाहलमा आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको औपचारिक समारोह सञ्चालन भइरहेको थियो ।
आरोही कल्याणकारी कोष बनाउने घोषणा गरेर औपचारिक मन्तव्य समापन गर्नुअघि प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले विगत स्मरण गरे । उनी एक्कासी भक्कानिए । उनको गला अवरुद्ध भयो । आँखा रसाए । केहीछिनमा उनी सम्हालिएए अनि भने, “सगरमाथा आरोहीलाई आज सम्मान गर्ने अवसर प्राप्त भयो । मेरो आफ्नै परिवारका दुई सदस्य छोरा र बुहारीले सगरमाथा आरोहण गरेको हुनाले मलाई आरोही भनेपछि आफ्नै परिवारको सदस्य जस्तै महशुस हुन्छ ।” उनको भावुकताले केहीबेर सभाहलका सहभागी सबै भावविहल बने ।
उनले आरोहीको कल्याणकारी कोष बनाउने कार्यमा सरकारले पहलकदमी लिने प्रतिबद्धता गरे । उनले भने, “आरोहीको हकहित र उनीहरुको सुरक्षाका लागि आरोही कल्याणकारी कोष बनाइयोस् भनिएको छ । हामी अर्थमन्त्रालयसँग समन्वय गरेर कोष बनाउनेतिर पहल गर्ने विश्वास दिलाउन चाहन्छु, त्यसका साथै पर्वतीय पर्यटन क्षेत्रलाई व्यावसायिकता वृद्धि तथा व्यवसायलाई सहज बनाउन कर छुटको व्यवस्थाका लागि पहल गर्ने विश्वास दिलाउँछु ।”
प्रधानमन्त्री दाहालले सगरमाथा दिवसले नेपालको पर्यटकीय आगमन वृद्धि गर्न, हिमालको संरक्षण गर्न, हिमाली क्षेत्रमा भइरहेको फोहर न्यूनीकरण गर्न एवं जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सगरमाथाबाट आरम्भ भएको हिमाल आरोहणको यात्रा नेपाललगायत विश्वका विभिन्न हिमशिखरहरुको आरोहण हुँदै विश्वव्यापी फैलिएको उल्लेख गर्दै सरकारले हिमाल आरोहणलाई सुरक्षित र आरोहीहरुको आत्मसम्मानलाई उच्च प्राथमिकता राखेर नीति तथा कार्यक्रम तर्जुमा गर्ने जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री हितबहादुर तामाङले प्रधानमन्त्रीले सरकार प्रमुखको हैसियतले घोषणा गरेको आरोहीको कल्याण कोष गठन गर्ने विषयलाई पर्यटन मन्त्रालयकोतर्फबाट औपचारिक प्रस्ताव अगाडि बढाइने उल्लेख गरे ।
सरकारले आगामी वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको र यसलाई सफल बनाउन पर्यटन क्षेत्रका सरोकारवालासँग सहकार्य र समन्वयकासाथ लक्ष्य पुरा गर्न पहल गर्ने पर्यटनमन्त्रीको भनाइ थियो । पर्यटनमन्त्री तामाङले नेपालको समग्र पर्यटन र विशेषतः पर्वतीय पर्यटनमा देखापरेको समस्या समाधानका लागि सरकार तत्पर रहेको बताए ।
उनले बढ्दो तापमान र हिमाली क्षेत्रमा बढ्दो मानवीय गतिविधिका कारण वातावरणमा परेको नकारात्मक प्रभावलाई सन्तुलन कायम गर्न सगरमाथाको आधार शिविरको समग्र अध्ययनका लागि कार्यदल बनाईसकिएको र त्यसले चाँडै प्रतिवेदन सरकारलाई बुझाउने जानकारी दिए । उनले प्रतिवेदनका आधारमा अघि बढ्ने बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वय र सहकार्य प्रभावकारी रहने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनको जोखिमबाट हिमाल संरक्षणका लागि पहल गरिनुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS