काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् ।
नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले आज शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताएका हुन् ।
उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोग लगायतका कामहरु नेपालले गर्न सकेमात्रै मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण, औद्योगिकीकरण गर्न नसके अगाडि बढाउन नसकिने तथ्य पनि स्मरण गराएका छन् ।
‘हामीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा हामी आफैँले पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ । हाम्रो पूँजी र प्रविधिले पुगेन भने पूँजी र प्रविधि बाहिरबाट ल्याउने, आकर्षित गर्ने, इन्भेष्ट गर्ने गर्नुपर्दछ । त्यो बाटो लिनुपर्छ,’ उनले भने ।
उनले पुँजी र प्रविधिको विकास गर्ने बाटोमा पनि अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै बजेट कार्यान्वयनको सम्बन्धमा पनि आफूले सरकारसँग कुरा गरिरहेको बताएका छन् ।
अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढनुको विकल्प नरहेको पनि बताए ।
FACEBOOK COMMENTS