१७ चैत, सिड्नी । अस्ट्रेलियाको कूल जनसंख्याको दर हेर्ने हो भने हरेक एक हजारमा चार जना नेपाली हुन् । किनकि यहाँको अहिलेको जनसंख्या दुई करोड ५६ लाख हाराहारीमा छ, जसमा एक लाख नेपाली छन् । करिब चार हजार अस्ट्रेलियनमा कोरोना संक्रमण देखिँदा जम्मा नौ जना नेपालीमा पनि देखिएको छ । तर, सबैको अवस्था सामान्य छ ।
चार जना त सञ्चो भइसकेका छन् । अस्ट्रेलियामा नेपाली समुदायका मानिसहरु प्रायः अत्यावश्यक सेवामा कार्यरत छन् । हजारौंको संख्यामा नर्सिंग, बृद्धबृद्धा स्याहार केन्द्रहरु तथा सरसफाई सेवामा छन् । हजारौं अहिले पनि सार्वजनिक यातायातको प्रयोग गर्छन् । उनीहरु अहिले कोरोना जस्तो महामारीको संक्रमणको जोखिममा हुनसक्छन् ।
अस्ट्रेलिया सरकारले कुनैपनि खालको बिसञ्चो महसुस भएमा घरबाहिर ननिस्कन भनेको छ । कोरोना संक्रमणको आशंका भएमा तुरुन्त सम्पर्क गर्न पनि भनेको छ । जसको परीक्षण तथा उपचार निस्शुल्क हुने भएकाले आर्थिक बोझको चिन्ता वा बीमा झन्झटको चिन्ता कसैले पनि मान्नुपर्ने छैन ।
गैरआवासीय नेपाली संघ अस्ट्रेलिया तथा नेपाली दूतावास क्यानबेराको एक संयुक्त तथ्यांकअनुसार अस्ट्रेलियामा अहिले चार सय ८७ जना नेपालीहरु एकान्तवास९आइसोलेसन० मा छन् । जसमा तीन सय १९ जना पुरुष र एक सय ६८ जना महिला छन् । उनीहरुमध्ये चार सय ३० जना हालसालै नेपालबाट आएका र ५७ जना अस्ट्रेलियामा नै कोरोना संक्रमितसँग निकट सम्पर्कमा पुगेको आशंका गरिएकाहरु छन् ।
एकान्तवासमा भएकामध्ये चार सय ८१ जना २० वर्षदेखि ४० वर्षसम्मका छन् । ६० वर्ष तलका जम्मा ६ जना छन् । यो तथ्यांकमा एक सय दुई जनालाई गैरआवासीय नेपाली संघका विभिन्न राज्य समितिहरुले खाद्यान्नदेखि अत्यावश्यक वस्तुहरु किनिदिएर सहयोग गरेकाछन् ।
FACEBOOK COMMENTS