काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको ‘भेनु’ कारको मूल्य सार्वजनिक गर्दै बिक्री वितरण समेत सुरू गरेको छ ।
नेपालमै हुन्डाइ भेनुको व्यावसाियक उत्पादन गरिएको कुरालाई ध्यानमा राख्दै कम्पनीले ‘हुन्डाइ नेपालः मेड फर योर जर्नी’ नाराका साथ ग्राहकमुखी योजना समेत सार्वजनिक गरेको छ ।
यस योजनामा हुन्डाइ भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङ्गको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी रहने कम्पनीले जनाएको छ । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाइ मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।
लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेनु मोडल उत्पादन सुरू गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु कोरिया र भारतमा बन्ने हुन्डाइकोजस्तै हुने दाबी कम्पनीले गरेको छ ।
स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकीकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले बताएको छ ।
हाल बिक्रीवितरण सुरू भएको मेड इन नेपाल ‘हुन्डाइ भेनु १.२ (एस) को मूल्य ४४ लाख ९६ हजार र भेनु १.२ (एसएक्स) को मूल्य ५३ लाख ५६ हजार रुपैयाँ कायम गरिएको छ । यी दुवै पेट्रोल गाडी हुन् ।
यसअघि हुन्डाइ भेनु १.२ (एस)को मूल्य ४८ लाख ९६ हजार र भेनु १.२ (एसएक्स) को मूल्य ५६ लाख ९६ हजार रुपैयाँ थियो । यस आधारमा नेपालमै उत्पादन हुन थालेपछि भेनु १.२ (एस) को मूल्य चार लाख र भेनु १.२ (एसएक्स) को मूल्य तीन लाख १३ हजार रुपैयाँले घटेको छ ।
गत वैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राम-६ मा ‘हुन्डाइ मोटर एसेम्बलिङ’ शुभारम्भ गरेका थिए । यससँगै कम्पनीले हुन्डाइ भनेन्युको बिक्री सुरु गरेको जनाएको छ ।
पहिलो चरणमा हुन्डाइ भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ । यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आई टेन र न्यु हुन्डाइ क्रेटाको उत्पादन पनि सुरु गर्ने तयारी कम्पनीको छ ।
हुन्डाइको एसेम्बलिङ प्लान्ट शुभारम्भपछि प्रधानमन्त्रीले भने– लगानी सुरक्षित गर्न सरकार प्रतिबद्ध छ
FACEBOOK COMMENTS