काठमाडौं,चैत २३ – लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुगेका छन् ।
“लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं” भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गर्न पुगेका हुन् । केही दिनअघि काठमाडौंमा कोही समस्यामा परेमा आफुलाई फोन गर्न मन्त्री मानान्धरले आह्वान गरेका थिए ।
हुसेनको परिवारले राज्यमन्त्री मानन्धरलाई खाद्यान्न अभाव भएको खबर गरेपछि मानन्धर त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ । खाद्यान्न पाएपछि हुसेनको परिवार निक्कै भावुक बनेको थियो । काम गरेको ठाउँमा साहुले निकालिदिएपछि खाने खर्च पनि नभएको गुनासो हुसेनले मन्त्रीलाई सुनाएका थिए । मन्त्री रासन लिएर डेरामा आइपुग्दा अल्लाह आएजस्तो भएको हुसेनले भावुक हुँदै सुनाए ।
FACEBOOK COMMENTS