काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चीन र श्रीलङ्कासँग डिजिटल भुक्तानी कारोबारसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा गभर्नर अधिकारीले चीनको ‘अलि पे’ र श्रीलङकाको ‘लंका पे’सँग डिजिटल भुक्तानी कारोबारका लागि निकट भविष्यमै सम्झौता हुने बताए ।
उनले भारतसँग डिजिटल कारोबार सुरु भएसँगै कारोबार बढेकोसमेत उल्लेख गरे । नेपालमा भारतीय रुपैयाँ २५ हजारसम्म मात्र नगद बोक्न मिल्ने प्रावधान पाँच सयभन्दा ठूला दरका नोटका लागि मात्रै भएको र त्योभन्दा साना दरका नोटको हकमा यो व्यवस्था लागू नहुने स्पष्ट पारे । साथै नेपालमा ठूला दरका भारतीय नोट कारोबार खुलाउने बारे भारतीय रिजर्भ बैंकसँग छलफल चलिरहेको उनले बताए ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा तथ्य, तथ्याङ्क र व्यवहारको वस्तुनिष्ठ विश्लेषण गरिने गभर्नर अधिकारीले उल्लेख गरे । निजी क्षेत्रले चालु पुँजी कर्जा मार्गदर्शनको व्यवस्था खुकुलो बनाउनुपर्ने माग राख्दै आएकामा साना ऋणीलाई यो मार्गदर्शनले समस्या नपारेको उनको भनाइ छ । बैंक र सेवाग्राहीबीचको सम्बन्ध हेर्ने गरी राष्ट्र बैंकमा छुट्टै शाखा स्थापना गरिएको जानकारी दिँदै उनले कोही पनि सेवाग्राही बैंकको व्यवहारबाट समस्यामा परमा उक्त शाखामा जानकारी दिन आग्रह गरे ।
FACEBOOK COMMENTS