काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुलुकको सबैभन्दा ठूलो र पुरानो धागो उद्योग रिलायन्स स्पिनिङ मिल्सको साधारण शेयर (आईपीओ) निष्कासन कार्य स्थगित गरेको छ ।
संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे जवाफ माग गरेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन कार्य स्थगित गर्ने निर्णय गरेको हो ।
कम्पनीले भोलि बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।
कम्पनीले आफ्नो कुल जारी पूँजी १ अर्ब ९० करोड रूपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको थियो ।
सर्वसाधारण समूहका लागि निष्कासन हुने १९ लाख २६ हजार ६०० कित्ता शेयरबाट ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर संस्थागत लगानीकर्तालाई बाँडफाँट गरिसकिएको छ भने बाँकी ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत अर्थात् एक लाख १५ हजार ५९६ कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आवेदन खुला गर्न लागिएको थियो ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार उक्त शेयर भोलि बिहीबारदेखि आवेदन खुला गरी आगामी साउन १० गतेसम्ममा आवेदन दिन पाइने थियो ।
रिलायन्स स्पिनिङको यो आईपीओमा न्यूनतम ५० कित्ता तथा अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो भने प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले मूल्य कायम भएको थियो ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS