एजेन्सी । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ ।
युनियनले यसअघि तीन दिने हडतालको घोषणा गरेको थियो । यो हडताल समसुङ कम्पनीको इतिहासमा सबैभन्दा ठूलो श्रम अवरोधको काम हो । चिप्स बनाउने विश्वकै केही प्रमुख कम्पनीमध्ये सामसुङ पनि एक हो र हडतालले विश्व बजारमा सामसुङको तर्फबाट आपूर्ति हुने चिप्सको व्यवस्थापनमा दबाब बढाउँछ । कम्पनीले गत हप्ता ठूलो दोस्रो त्रैमासिक सञ्चालन मुनाफा वृद्धिको भविष्यवाणी गरेको थियो ।
नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “व्यवस्थापन कुरा गर्न इच्छुक नभएपछि हामी जुलाई १० देखि दोस्रो अनिश्चितकालीन आमहडतालको घोषणा गर्छौं । तलब र सुविधाका लागि लामो समयदेखि चलेको सङ्घर्षको एक हिस्साका रूपमा तीन दिने हडतालका लागि सोमबार पाँच हजारभन्दा बढी सदस्यले हडतालमा सहभागी भई काम गर्न छोडेका छन् ।
युनियनको यो हडताल जूनमा एक दिनको ‘वाकआउट’पछि आएको हो । दशकौंसम्म सङ्घसङगठन बिना चलेको कम्पनीमा पहिलो पटक सामूहिक विरोधसहित काममा अवरोध पारिएको छ । आन्दोलनरत युनियनमा ३० हजार भन्दा बढी सदस्यहरू छन् जुन कम्पनीको कुल कार्यबलको पाँच भागको एक भागभन्दा बढी हो ।
सामसुङले बुधबार एएफपीलाई दिएको जानकारीअनुसार हडतालले उत्पादनमा कुनै असर पार्ने छैन । “सामसुङ इलेक्ट्रोनिक्सले उत्पादन लाइनमा कुनै अवरोध नआओस् भन्ने सुनिश्चित गर्नेछ,” कम्पनीका प्रवक्ताले एएफपीसँग भने । उनले भने, “कम्पनी युनियनसँग असल विश्वासको वार्तामा संलग्न हुन प्रतिबद्ध छ ।”
तर युनियनले उत्पादनमा स्पष्ट व्यवधान आएको दावी गर्दै हडताल जति लामो समयसम्म जारी रह्यो, त्यति नै व्यवस्थापनलाई असर पर्ने बताएको छ । “अन्ततः उनीहरू घुँडा टेकेर वार्ताको टेबलमा आउनेछन् । हामी जितमा पूर्ण आशावादी छौँ,” विज्ञप्तिमा भनिएको छ ।
युनियनले सामसुङ व्यवस्थापनले हडतालमा अवरोध पु¥याएको आरोप लगाउँदै आफूहरू वार्तामा सहभागी हुन इच्छुक नदेखिएको बताएको छ । यसले ‘अझै पनि हिचकिचाउन’ थप कर्मचारीसहित कामदारहरूलाई सहभागी हुन आग्रह गरेको छ ।
उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य र विजयलाई अगाडि बढाउन तपाईंको दृढ सङ्कल्प आवश्यक छ । आउनुहोस्, हामी हाम्रा अधिकारहरूको रक्षा गर्न र राम्रो भविष्य निर्माण गर्न हाम्रो शक्तिलाई एकताबद्ध गरौं ।”
युनियनले जनवरीदेखि नै व्यवस्थापनसँग वार्ता गरिरहे पनि दुवै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । युनियनले यसअघि वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनसलगायतका माग राख्दै ५.१ प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको छ ।
काउन्टरप्वाइन्ट रिसर्चका रिसर्च भाइस प्रेसिडेन्ट नील शाहले एएफपीसँग भने, “हडतालको असर हडतालको अवधि, उत्पादन अवरोधका दिन र पुनः प्राप्त गर्ने रणनीतिसहितका विभिन्न कारकमा निर्भर गर्छ ।”
उनले थपे, “सामसुङ व्यवस्थापनले यो हुन सक्छ भनेर कसरी तयार गरेको छ र पहिले नै यसलाई छिटो समाधान गर्न के गृहकार्य गरेको छ यसले क्षतिको सम्भावना कति हुने कुरा निर्धारण गर्छ ।” आलोचकहरूका अनुसार, सामसुङ इलेक्ट्रोनिक्सले लगभग ५० वर्षसम्म विश्वको सबैभन्दा ठूलो स्मार्टफोन र सेमीकन्डक्टर निर्माता बन्नको लागि काम गरेका आफ्ना कर्मचारीहरूलाई युनियन खोल्न दिएको थिएन ।
सन् १९८७ मा निधन भएका कम्पनीका संस्थापक ली बियुङ–चुलले युनियनको कडा विरोध गर्दै भनेकाे थियोे, “जबसम्म मेरो आँखामा कसिङ्गर पर्ने छैन तबसम्म म कहिल्यै पनि युनियन खोल्नलाई अनुमति दिन्नँ ।” सन् २०१९ मा सामसुङ इलेक्ट्रोनिक्सको पहिलो प्रभावकारी श्रमिक युनियन गठन भएको थियो ।
त्यसको केही समयपछि नै सामसुङ इलेक्ट्रोनिक्सका संस्थापकका नाति तथा वर्तमान अध्यक्ष ली जे–योङले सन् २०२० मा कम्पनीको युनियनविहीन सिद्धान्त अन्त्य भएको घोषणा गरेको थियो । सामसुङका तत्कालीन उपाध्यक्ष लीले सामसुङको श्रम नीतिले बदलिँदो समयको माग पूरा गर्न नसकेको बताए ।
यो कम्पनी दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङ समूहको प्रमुख सहायक कम्पनी हो, जुन एशियाको चौथो ठूलो अर्थव्यवस्थामा व्यवसायमा प्रभुत्व जमाउने परिवार–नियन्त्रित समूहहरूमध्ये सबैभन्दा ठूलो हो ।
FACEBOOK COMMENTS