काठमाडौं । पशुपतिनाथ परिसरमा चलिरहेको एक महिने पशुपति कोटीहोम महायज्ञमा प्रवचन दिन नेपाल आएकी नेपाली छोरी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाजी भारत फर्किएकी छिन् ।
यही साउन १ गते मंगलबारदेखि सुरू गरिएको कोटीहोम महायज्ञमा १४ दिन श्रीमद् भागवतको कथा श्रवणपान गराएर उनी आज सोमबार आफ्नो कर्मस्थल भारतको वृन्दावन फर्किएकी हुन् । गत शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवी प्रतिभा नेपालीहरूको अपार मायाका कारण दुई दिनपछि आज मात्रै भारत फर्किएकी हुन् ।
मानवसेवा फाउण्डेसनले आयोजना गरेको ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ–२०८१ आगामी ३२ गतेसम्म जारी रहने छ ।
महायज्ञमा प्रवचन दिन देवी प्रतिभाजी नेपाल आएकी थिइन् । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा जन्मिएकी प्रतिभा भारतमा अध्ययन गरेर विश्वचर्चित वाचिका बनेकी हुन् ।
भारतका हजारौँ वाचक–वाचिकामध्ये उनी उत्कृष्ट तीन बाचिकाहरुमा पर्छिन् । साधारण शिक्षा उनले बनेपाको पञ्चकुमारी स्कुलबाट लिएकी थिइन् भने गाउँकै नवप्रतिभा स्कुलमा केही समय अध्ययन गरेकी थिइन् ।
पछिल्लो एकदशकदेखि उनी भारतको वृन्दावनमा अध्ययनकै शिलशिलामा पुगिन् र उतैबाट यस क्षेत्रमा प्रवेश गरिन् । हालसम्म उनले सयौँ ठाउँमा प्रवचन दिइसकेकी छिन् । सुरक्षाकर्मी, भजनमण्डली लगायत उनको ५० जनाको टीम छ । उनी अहिले २३ वर्षकी भइन् ।
FACEBOOK COMMENTS