काठमाडौं । कुशल प्रशासक एवं व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज यहाँ आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गरे ।
सो सम्मान रु दुई लाख राशिको रहेको छ । सङ्घले र साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा सो संस्थाका अध्यक्ष स्व हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो ।
पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पुर्याएको योगदान स्वरूप डा थापालाई सो सम्मान प्रदान गरिएको सङ्घका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए ।
सम्मानित व्यक्तित्व डा थापाले राष्ट्रिय योजना आयोगको सदस्य सचिव, अर्थ तथा योजना मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको अर्थसचिव हुँदै अर्थमन्त्री एवं परराष्ट्र मन्त्रीको गहन जिम्मेवारी सम्हालेका थिए ।
साथै संयुक्त राज्य अमेरिका र भारतका लागि नेपाली राजदूत, नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको नेपालतर्फको संयोजक तथा श्रीलङ्काका लागि संयुक्त राष्ट्र सङ्घको आवासीय प्रतिनिधि र क्यानडास्थित अन्तर्राष्ट्रिय विकास अनसुन्धान केन्द्र (आइडिआर सी) को उपाध्यक्षका हैसियतमा कूटनीतिक सेवामार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन उनले उल्लेखनीय योगदान दिए ।
उक्त सम्मान छनोटका लागि पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुङगाना सदस्य रहेका थिए ।
FACEBOOK COMMENTS