काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरूबीच हुने यू-२० पुरूष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता भोलि (आइतबार) देखि सुरू हुँदैछ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दै छन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि दिउँसो ३ बजे हुनेछ ।
नेपाली टोलीका कप्तान कुशल देउवाले यस पटक समूह सक्षम र बलियो रहेकाले आफूहरू मानसिक रूपमा पनि तयार रहेको बताए । सन् २०१५ मा नेपालबाट सुरू भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
नेपालले साफ यू-२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो ।
त्यसपछि सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको इतिहास छ ।
श्रीलङ्काका प्रशिक्षक देभ्साग्याम राजमनीले उक्त प्रतियोगिताको लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य राखिएको बताए । साविक विजेता भारतका प्रशिक्षक रञ्जन चौधरीले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको बताए ।
बङ्गलादेशका प्रशिक्षक एकेएम मारुफुल हकले आफ्नो टोलीमा अनुभवी खेलाडीहरू भएकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य रहेको बताए । बङ्गलादेश गत संस्करणको उपविजेता बनेको थियो । भुटानका कप्तान पेमा जाङ्गपोले यस पटक आफ्नो टोलीले नयाँ इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए ।
नेपाली टोलीमा कप्तान कुशल देउवासँगै जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, नीरज कार्की, हरिशराज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समीर तामाङ, निराजन धामी र रोहन खड्गी छन् ।
FACEBOOK COMMENTS