काठमाडौं । निराजन धामीको गोल मद्दतमा घरेलु टोली नेपालले आजदेखि सुरू साफ यू-२० च्याम्पियनसिपमा विजयी सुरूआत गरेको छ ।
आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालले पहिलो हाफमा गरेको गोल नै निर्णायक भएको हो ।
खेलमा नेपालले गोल गर्ने अन्य राम्रा अवसरहरू बनाए पनि तिनको सदुपयोग गर्न सकेन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
त्यसअघि नेपालका समीर तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।
पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा श्रीलंकाका मोहमेद थिलहामले पेनाल्टी बक्सबाहिरबाट हानेको प्रहार नेपालका गोलकिपर जियारथ शेखले बचाएका थिए ।
दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । समीर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जन गोल गर्न चुकेका थिए ।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा नेपालका निराजन धामीको प्रहार बारमा लागेर बाहिरिएको थियो ।
नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ ।
त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ ।
च्याम्पियनसिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
च्याम्पियनसिपमा आइतबार समूह ‘बी’ मा रहेका भारत र भुटानबीच खेल हुनेछ ।
FACEBOOK COMMENTS