सिमकोट (हुम्ला) । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २ ००१ च ०९२२ नम्बरको जीप चङ्खेली-२, गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । चालकसहित सात जना सवार जीपमा पाँच जना गम्भीर र दुई जना सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल छन् । बाजुराको बूढीनन्दा नगरपालिका-४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली-२ की मायादेवी शाही सामान्य घाइते भएका छन् ।
दुर्घटना हुनासाथ मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सात जनाको टोली घटनास्थलमा पुगेर उनीहरूको उद्धार गरेको हो ।
गौरीसल्लामा दुर्घटना भएको जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट एक सय ५० मिटर तल खसेको थियो ।
FACEBOOK COMMENTS