काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले उपप्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ ।
अमात्यले गत साउन १ र पौडेलेले बुधबार (भदौ ५ ) देखि ५ गते देखी उपप्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
पौडेल आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदबाट बिदा भई आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा प्रवेश गरेका हुन् ।
कम्पनीको उपप्रमुख कार्यकरी अधिकृतमा नियुक्त हुनुअघि अमात्य कम्पनीको नायब महाप्रबन्धक पदमा कार्यरत थिए । जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा पनि स्थापना वर्ष २०६५ सालदेखि २०७४ सम्म काम गरेका थिए । उनी सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आईएमई लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।
अमात्य आईएमई लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए ।
उपप्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनका साथै बीमालेख विकास, जोखिम वहन, पुनर्बीमा, बीमा मूल्यांकन, दाबी व्यवस्थापन, बीमालेख सेवामा नीन दशकभन्दा लामो कार्य अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।
त्यस्तै आईएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका पौडेल रेमिट्यान्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन् । आईएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय संस्थाको उच्च व्यवस्थापन तथा स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आईएमई डिजिटल सलुसन्सलगायतका कम्पनीहरूमा पौडेलले सञ्चालकको भूमिका निर्वाह गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए (फाइनान्स) गरेका पौडेलले भारतको अहमदावादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ बैंकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् । साथै पौडेलले अमेरिकास्थित हार्वड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवासम्बन्धी व्यावसायिक कोर्ससमेत गरेका छन् ।
FACEBOOK COMMENTS