काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा (एमाले) की लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्माले बालश्रम शोषण गरेको भन्दै सांसद शर्माको फोटोसहित फेसबुकमा पोष्ट गरेको स्टाटस हटाएका छन् । मेयर शाहले दुई दिनअघि पोष्ट गरेको उक्त स्टाटस मंगलबार हटाएका हुन् ।
उनले दुई दिनअघि फेसबुकमा सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको भन्दै किन पक्राउ नगरेको भनी प्रश्न गरेका थिए ।
ती बालिकालाई कुटपिटसमेत गर्दै आएको भन्दै दुई महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको बालेनको भनाइ थियो । उक्त स्टाटसमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत आलोचना गरेका थिए ।
उनको उक्त स्टाटसमा लेखिएको थियो, ‘उहाँ हुनुहुन्छ नेकपा (एमाले) की प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनुभएको छ । काठमाडौं महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’
यता मेयर शाहको सचिवालयले भने उक्त स्टाटस धेरैले रिपोर्ट गरेपछि फेसबुकले नै हटाइदिएको र रिकभरको प्रयास भइरहेको बताएको छ ।
मेयर शाहको उक्त स्टाटसप्रति एमालेको भातृ संगठन अनेरास्ववियुले आपत्ति जनाएको थियो । अनेरास्ववियुका अध्यक्ष समिक बडालले स्टाटसमा उल्लेख कुरा तथ्यहीन भएको भन्दै मेयर शाहको स्टाटसलगत्तै फेसबुकमार्फत आपत्ति जनाएका थिए ।
यसैबीच मेयर शाहको उक्त स्टाटस हटेपछि अनेरास्ववियु अध्यक्ष बडालले मेयर शाहलाई धन्यवाद दिएका छन् ।
बडालले फेसबुकमा लेखेका छन्, ‘बालेन्द्र शाहज्यू, धन्यवाद ! तथ्यहीन पोष्ट सामाजिक सञ्जालबाट हटाउनुभएको रहेछ । जिम्मेवार निकायमा रहेका सार्वजनिक व्यक्तिले समन्वयको माध्यमबाट काम गरेर नतिजा निकाल्नुपर्छ । निराशा पैदा गरेर त्यसमा अवसर खोज्ने कुरा व्यक्तिलाई लाभदायक होला, तर देशलाई कुनै पनि फाइदा हुँदैन । अनेरास्ववियु सबै प्रकारका न्याय र अधिकार सुरक्षित गर्न आफ्नो तर्फबाट खबरदारी गर्दछ । हामी तथ्यको जगमा उभिएर बोल्छौं । सत्यलाई केही समयका लागि छोप्न सकिएला, तर मार्न सकिँदैन ।
काभ्रे जाँदैछु, सत्य स्विकार्नुको विकल्प छैन ।’
यस्तै बडालले यस विषयमा मेयर शाहले लेखेको अर्को स्टाटस पनि हटाउन आग्रह गरेका छन् । उक्त स्टाटसमा मेयर शाहले यस मुद्दाबारे उच्च अदालतको फैसलासहित स्पष्ट पारेका थिए ।
FACEBOOK COMMENTS