म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका-५, ठिनीमा रहेको हिउँचितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाइ लम्ब्याउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँचितुवा गुफा पूर्वाधारको अभावमा ओझेलमा परेको हो ।
जोमसोम-ठिनी-ढुम्बाताल सडकदेखि गुफासम्म पुग्ने उकालोमा निर्माण गरिएको पदमार्ग भत्किएपछि पर्यटकलाई त्यहाँ पुग्न समस्या भएको छ । करिब तीन सय मिटर पदमार्ग निर्माण गर्न सकेमा पर्यटकलाई आवत जावत गर्न सहज हुने बताइएको छ ।
कालोपत्रको तयारीमा रहेको जोमसोम-ठिनी-ढुम्बाताल सडकको ठिनीदेखि गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग भएमा पर्यटकलाई सहज हुने ठिनीवासी निरज थकालीले बताए ।
‘गुफाको नाम हिउँचितुवा राखिएका कारण नै हिउँचितुवा र गुफाबीचको सम्बन्धका बारेमा धेरैलाई चासो छ,’ उनले भने, ‘गुफा भएकै ठाउँमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले क्यामेराहरू राखेर हिउँचितुवाको भिडिओ र फोटोहरू खिचेको थियो । त्यो बेलामा चारवटा हिउँचितुवा क्यामेरामा कैद भएकाले गुफा र हिउँचितुवाको सम्बन्ध पुष्टि भएको हो ।’
गुफा रहेको क्षेत्रमा दुर्लभ वन्यजन्तु हिउँचितुवा आउने तथा गुफा र हिउँचितुवा दुवैको प्रचारप्रसार हुने भएकाले ‘हिउँचितुवा गुफा’ भनी नामकरण गरिएको थकालीले बताए । लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवा नेपालको हिमाली भेगसहित विश्वका १२ देशमा मात्र पाइन्छ ।
जोमसोम बजारबाट ठिनी हुँदै गाडीमा १० मिनेटको यात्रा गरी पाँच मिनेटको पैदल यात्रा गरेपछि गुफामा पुगिन्छ । विसं २०७१ मा उद्यान बनाउने क्रममा निस्किएको माटो पन्छाउने क्रममा तीनवटा गुफाहरू भेटिएका थिए । १० मिटरभन्दा बढी लामो गुफाभित्र विभिन्न प्राकृतिक आकृतिहरू देख्न सकिन्छ । गुफाभित्रैबाट ठिनी गाउँ र जोमसोम बजार अवलोकन गर्न पाउनु यहाँको थप आकर्षण हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), नेपाल पर्यटन बोर्ड र घरपझोङ गाउँपालिकाले प्रवेशद्वार, पदमार्ग र गुफा परिसरमा पर्यटक बस्ने बेञ्च बनाएका थिए । धेरै वर्षात भएर प्रवेशद्वारदेखि गुफासम्म पुग्ने पदमार्ग भत्किएपछि समस्या भएको छ ।
पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले हिउँचितुवा गुफा जोड्ने पदमार्ग लगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन भएको जानकारी दिए । प्रदेश सरकारले विनियोजन गरेको उक्त बजेटबाट पदमार्ग निर्माण भएपछि पर्यटकहरूलाई सहज हुने र आगमन बढ्ने उनले बताए ।
FACEBOOK COMMENTS