काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले मुलुकमा आइपरेको जुनसुकै विषम् परिस्थितिमा पनि एसटीसीले आफ्नो सेवाप्रवाहमा कुनै कमी नल्याएको बताएकी छिन् ।
एसटीसीको ६२औँ वार्षिकोत्सवको अवसरमा आज बिहीबार कार्यालय परिसरमै आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम् परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुर्याउने यात्रालाई निरन्तरता दिँदै आएको बताएकी हुन् ।
कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवम् सर्वसुलभतालाई मूलमन्त्रको रुपमा लिँदै त्यही मूल्य र मान्यता अनुसार आम उपभोक्ताका लागि सेवा प्रवाह गर्दै आएको चर्चा गर्दै सोही मूल्य र मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रुपमा आम उपझोक्ताको सेवामा सत्रिय रहने प्रतिवद्धता पनि व्यक्त गरेकी छिन् ।
‘कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताका लागि अति आवश्यक वस्तु नुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशक भन्दा बढी समय पूरा गरेको छ । राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम् परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुर्याउने यात्रालाई निरन्तरता दिएको छ,’ सीईओ श्रेष्ठले भनिन् ।
कर्पोरेशनले आम जनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत समान्य अवस्थामा आफ्नै आउटलेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुर्याएर भए पनि सेवा प्रवाहलाई निरन्तरता दिएको जानकारी उनले दिइन् ।
‘विगतमा आएको ठूलो भूकम्प र कोभिडको समयमा हामीले आम उपभोक्ताको घरदैलोसम्म सेवा पुर्याउन सकेकोमा हामी गौरवान्वित भएका छौँ र सर्वसाधारणबाट प्रशंशा पाएका छौँ,’ उनले भनिन्, ‘सरकारले हामीलाई कार्यक्षेत्र व्यापक बनाउन र अत्यावश्यकीय उपभोग्यवस्तु उत्पादन, तथा सुपथ मूल्यमा बिक्री वितरण गर्न प्रोत्साहित गर्दै आएकोमा कर्पोरेशन गौरवान्वित भई आफ्नो दायित्व निर्वाहमा रहिरहने वचनवद्धताका साथ नेपाल सरकारप्रति आभार व्यक्त गर्दछौँ ।’
दैनिक उपभोग्य वस्तुका अतिरिक्त कृषि क्षेत्रको विकासमा सहयोग पुर्याउन अनुदानित एवम् गैरअनुदानित रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरुलाई उपलब्ध गराउँदै आएको पनि सीईओ श्रेष्ठले बताइन् । यस्तै, पत्रपत्रिका प्रकाशनमा उपयोगी कागजको आयात र बिक्री बितरण गर्दै आएको र आधुनिक प्रविधिमा आधारित सुरक्षित घरहरु बनाएर बिक्री गर्न समेत प्रयासरत रहेको उनको भनाइ छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले कारोबार र सेवाको क्षेत्र दिनानुदिन बढाउँदै लगेको छ भने भविष्यमा अझ विस्तार गर्ने नीति लिएका छ ।
FACEBOOK COMMENTS